भारत नेपाल एलओसीको दशौँ समीक्षा बैठक सम्पन्न 

कार्यान्वयनमा रहेका विभिन्न परियोजनाको प्रगतिबारे छलफल



काठमाडौँ। 

दशौं भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) को दशौँ   समीक्षा बैठक शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।
बैठकमा भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव श्री ए.अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरे  ।

त्यसैगरी नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव  श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरेका थिए  । नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो ।

नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भएका लगायत भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षबाट प्रशंसा भएको थियो । साथै बैठकले  कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि समीक्षा गरेको छ ।
बैठकका लागि नेपाल आएको भारतीय टोलीले भारत सरकारको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण गरेको थियो ।

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको जनाएको छ  ।

लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ  । यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना (११०५ किमी सम्पन्न),  ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको बताइएको छ ।

कोशी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत् प्रसारण पूर्वाधारलाई विस्तार गर्न मद्दत गरेको छ । भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्