बेलर स्कुल बनेपामा ‘राष्ट्रिय सेवा दल’को अभिमुखीकरण



काभ्रे। 

बेलर इन्टरनेशनल एकेडेमी बनेपामा राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले राष्ट्रिय सेवा दलको तालिम र यसका उपलब्धिका बारेमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए।

 नेपाली सेनाको  राष्ट्रिय सेवा दल तालिमका सन्दर्भमा छनौट गर्न छात्र छात्राहरुलाई बेलर इन्टरनेशनल एकेडेमीमा नेपाली सेनाको कालीजंग गण धुलिखेलले अभिभुखिकरण कार्यक्रममा सहभागि गराएको हो।

यस अघि बेलर इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरु शिक्षालयबाट सहभागी विद्यालयहरु मध्ये प्रथम भएको थियो । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीहरूलाई नेपाली सेनाले विभिन्न मुलुक पठाउने गरेको छ । बेलरका विद्यार्थीहरु श्रीलंकामा सहभागी भएका थिए । ‘बेलरले यस अघि प्राप्त गरेको तालिममा बालबालिकाहरु प्रथम भएका छन्’– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले भने–‘प्रथम भएको विद्यालय र विद्यार्थीहरुको उत्कृष्टतालाई जोगाउँदै थप सशक्त रुपमा तालिममा सहभागी हुन अवसरसँगै चुनौती थपिएको छ ।’ विद्यालयमा तालिममा सहभागी हुनका लागि विद्यार्थीहरु तँछाडमछाड गरिरहेका छन् ।

राष्ट्रिय सेवा दलको तालिम पश्चात् बालबालिकाहरु अनुशासित, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुनेछन्’–कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘बालबालिकाहरुमा स्वयंसेवी भावनाको विकास हुनेछ । युवा वर्गमा क्षमता, दक्षता अभिभवृद्धीका तालिम फलदायी बन्नेछ ।’ ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्य रहेको राष्ट्रिय सेवा दल नेपाल सरकारको नेतृत्वदायी भूमिका तथा नेपाली सेनाबाट निरन्तर भइरहेको सहयोग मार्फत देशका ७७ वटै जिल्लामा विस्तार भई अत्यधिक मागका बाबजुद ७ हजार ७ सय विद्यार्थीहरूलाई मात्र तालिम गराउँदै आएको छ । ७ वटा देशसँग रहेको मित्रराष्ट्र सम्बन्धका आधारमा युवा आदान प्रदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बालबालिकाहरुले तालिमको अवसरमा एरोविक्स, तेक्वान्दो, आईकिदो, विपद् ब्यवस्थापनको परिचयसँगै उद्धार, विपद् व्यवस्थापनमा स्वयंसेवकको भूमिका, साहसिक तालिम दिनेछ । युवावर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ । अभिमुखीकरण कार्यक्रममा विद्यालयकी प्रिन्सिपल इन्दु थापाले तालिमले विद्यार्थीहरुमा अनुशासनको विकास भई असल नागरिक बन्न सहयोग पुगेको बताइन् । नेपाल पत्रकार महासघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना तमासे नागरिक नभई स्वयंसेवी नागरिक बन्न तालिम महत्त्वपूर्ण हुने बताए ।

यो वर्षको तालिममा जिल्लाबाट ७ वटा विद्यालय सहभागी भएका छन् । एसओएस बालग्राम, डिभाईन लाइट स्कुल, पुण्य माध्यमिक विद्यालय, सञ्जीवनी माध्यमिक विद्यालय, सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम साउन १ गतेबाट सुरु भएको छ भने आदर्श विद्या मन्दिर र बेलर स्कुल बनेपामा सिनियर डिभिजनको तालिम भदौ १ गतेबाट सुरु हुनेछ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएका छन् भने सिनियर डिभिजनमा कक्षा ११ र १२ का विद्यार्थी सहभागी भएका छन् । तालिममा प्रत्येक विद्यालय १८ जना छात्र र १८ छात्रा सहभागी भएका छन् ।

एक सय दिनको तालिम मध्ये ७९ दिन विद्यालयमै दिइने छ भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रुपमा शिक्षालयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्