महानिरीक्षक अर्यालबाट सातौ‌ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सम्पन्न



????????????????????????????????????

काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सातौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित दिक्षान्त समारोहकाबीच शुक्रबार समापन गरेका हुन् ।

समारोहका प्रमुख अर्याल र समारोहका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित सो कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्मचार्यलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, ‘बेस्ट रिसर्च अवार्ड’ र ‘बेस्ट एकेडेमी अवार्ड’ प्रदान  गरेका थिए  ।

कार्यक्रममा महानिरीक्षक अर्यालले प्रशिक्षार्थी अधिकृतहरुलाई उक्त कोर्षको अध्यापन गराउने कार्यमा विशेष भूमिका निर्वाह गरेका  डा.सोहन कुमार कर्ण, डा.नरेश रिमाल र नारायण अधिकारीलाई प्रशंसापत्र समेत प्रदान गरेका हुन् ।

उनले यस प्रकारको शैक्षिक र व्यावसायिक शिक्षाले संगठनमा आवद्ध अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै सकारात्मक सोच, उदाहरणीय तथा योग्य कमाण्डर निर्माणमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याने उल्लेख कार्यक्षेत्र परिचालित हुँदा सांगठनिक लक्ष्य प्राप्तीमा नेतृत्वदायी र प्रेरणादायी भूमिका निर्वाह गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए ।

समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले सुरक्षा चुनौतीहरुलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञान अपरिहार्य रहने उल्लेख गर्दै सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरेका छन् ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्तितथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापनलगायत सुरक्षा, विकास र शान्ति जस्ता विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री) को मान्यता प्राप्त रहेको छ ।

सो कोर्षमा प्रशिक्षार्थी अधिकृतहरुलाई कार्यशाला गोष्ठी, विशेषज्ञहरुसँग अन्तरक्रिया लगायतका शैक्षिक र व्यावसायिक गतिविधिहरुमा सहभागिता गराउनुकासाथै स्वदेश तथा विदेशमा अध्ययन भ्रमणसमेत गराईएको थियो । १५ महिना अवधिको सो कोर्षमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक १, सशस्त्र प्रहरी उपरीक्षक ३ र सशस्त्र प्रहरी नायव उपरीक्षक ४ जनाको सहभागीता रहेको थियो ।

 

 

 

समारोहमा अनुसन्धानमा आधारित लेख, सुरक्षा, विकास, विपद्, देशको सीमानालगायत अन्य समसामयिक विषयहरु समेटिएको एपीएफ कमाण्ड तथा स्टाफ कलेजको जर्नल अनावरणसमेत गरिएको थियो ।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका कमाण्डेन्ट, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका सहसचिव, नेपाली सैनिक प्रतिष्ठान खरिपाटीका कमाण्डेन्टलगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका निमित्त समादेशकलगायत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्