सांसद शर्मा पक्राउ

को हुन् सुनील शर्मा ?



विराटनगर । शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद डा.सुनील शर्मासहित थप २ जनालाई पक्राउ गरेको छ ।

विराटनगर तथा काठमाडौंमा मेडिकल कलेज सञ्चालन गर्दै आएका डा.शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अभियोगमा पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सांसद शर्माको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा उहाँलाई सीआईबीले पक्राउ गरेको हो । के हो भन्ने जानकारी अब अनुसन्धान गरेपछि थाहा होला ।’

यसअघि पनि डा. शर्माको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै प्रहरीमा उजुरी परेको भए पनि प्रहरीले खासै अनुसन्धान गरेको थिएन । गत मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा मोरङ क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट उहाँ निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसको शेखर कोइराला समूहमा रहेका डा. शर्मालाई इगोका कारण पक्राउ गरिएको उहाँ निकट स्रोतले दाबी गरेको छ ।

हङकङबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको १ सय केजी सुन सरकारी निकाय पार गर्दै विमानस्थलबाट बाहिरिएर गन्तव्यतर्फ जाँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट उक्त सुन पक्राउ गरेपछि डा शर्माले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नतामा उक्त सुन बाहिरिएको आरोप लगाउँदै आउनुभएको थियो ।

डा. शर्माले गृह र अर्थमन्त्रीमाथि कारबाही नभए संसद् भवनमा नै अनशन बस्ने चेतावनी दिएपछि दुई मन्त्री र उहाँहरूबीच शीत युद्ध नै चलेको थियो । अर्थमन्त्रीभन्दा पनि गृहमन्त्री श्रेष्ठ डा. शर्मासँग असन्तुष्ट बन्दै आउनुभएको थियो ।

आफ्नो राजीनामा माग्ने डा. शर्मालाई कुनै अभियोगमा फसाउने षड्यन्त्रमा रहेका गृहमन्त्री श्रेष्ठले यसअघि नै मिलिसकेको केसलाई पुनः बल्झाएर उहाँलाई फसाउने षड्यन्त्र भएको शर्मा निकट स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्री महतले साउन १० गते उहाँलाई कारबाही गर्ने चेतावनी दिँदै आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुभएको थियो । तर, डा. शर्माले आफू जस्तोसुकै कारबाही भोग्नुपरे पनि आफ्नो अडानबाट पछि नहट्ने बताउँदै आउनुभएको थियो ।

डा शर्मासँग रुष्ट बनेका गृहमन्त्री श्रेष्ठले डा. शर्माले गरेको गल्ती खोज्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई आफ्नै कार्यालयमा बोलाएर निर्देशन दिनुभएको थियो । सोही निर्देशनबमोजिम प्रहरी महानिरीक्षक कुँवरले नक्कली शैक्षिक प्रमाणपत्रको पुरानो मुद्दामाथि पुनः अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबीले शर्मालाई मण्डिखाटारस्थित निवासबाट पक्राउ गरेको थियो ।

को हुन् सुनील शर्मा ?

नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. शर्मा मोरङ क्षेत्रनम्बर ३ का प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गर्नुभएको थियो भने शर्माका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकालले २५ हजार ८ सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

२०७४ सालको निर्वाचनमा शर्मालाई पराजित गरेर ढकाल प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो । शर्माको जन्म झापाको दमकमा २०३४ पुस २२ गते भएको थियो । शर्मा नेपाली कांग्रेसको १३औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । पार्टीको आन्तरिक चुनावमा मोरङको केराबारी गाउँपालिकामा शर्माले गोपाल थापालाई पराजित गर्नुभएको थियो ।

मोरङको बेलबारी नगरपालिका स्थायी बसोबास भएका शर्माले माध्यमिक तहको अध्ययन कालिकोटमा गरेको बताइन्छ । त्योभन्दा अगाडि शर्मा मोरङकै लेटाङ नगरपालिकास्थित लेटाङ माध्यमिक विद्यालय अध्ययन गर्नुहुन्थ्यो । अनुत्तीर्ण भएपछि उहाँ अध्ययनकै लागि कालिकोट गएको बताइन्छ ।

त्यहाँ उहाँ मामासँग बसेका शर्मा पञ्चदेव उच्च माविमा ९ कक्षामा भर्ना हुनुभएको थियो । लेटाङमा भने शर्मा राजेन्द्र न्यौपानेको नामबाट परिचित हुनुहुन्थ्यो । पछि सुनील शर्माको नामबाट चिनिन थाल्नुभयो ।

मोरङ कांग्रेसका नेताहरूका अनुसार शर्मा नोबेल मेडिकल कलेजको सञ्चालक भएर आएपछि कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट मानिनुहुन्छ । कोइरालाकै सिफारिसमा शर्माले मोरङको निर्वाचन क्षेत्रनम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि टिकट पाउनुभएको थियो ।

नोबेल मेडिकल कलेजका तत्कालीन सञ्चालक डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डेलगायतलाई माओवादी शान्ति प्रक्रियामा आउनेबित्तिकै काभ्रेमा लगेर कुटपिट गराएको आरोपसमेत उहाँमाथि लागेको थियो । २०६४ सालमा बिनासेयर नोबेलमा लगानीकर्ता बनेका शर्मा त्यसपछि विभिन्न प्रक्रियाबाट आफ्नो एकल स्वामित्वमा ल्याउन सफल हुनुभएको छ ।

२०७३ सालमा नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध सीआईबीले ‘क्वाक अपरेसन’ सञ्चालन गरेपछि शर्मा लामो समयसम्म जापान र दुबईमा बस्नुभएको थियो । शर्माको आईएसीको सर्टिफिकेट भारतको रहेको बताइन्छ भने उहाँले एमबीबीएस चीनबाट उत्तीर्ण गरेको दाबी गर्दै आउनुभएको छ ।

शर्मा केही दिनअघि मात्रै ओशो तपोवन गई साता लामो ध्यान शिविरमा बसेर ओशो सन्न्यासी बन्नुभएको छ । शर्माले मोरङस्थित आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणलाई निःशुल्क उपचार गराउँदै आउनुभएको छ ।

माोरङ ३ मा शर्मा सञ्चालक रहेको नोबेलले निःशुल्क एम्बुलेन्ससहित निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । सफल मेडिकल व्यवसायीका रूपमा ख्याती कमाएका डा. शर्मा काठमाडौं मेडिकल कलेजको पनि सञ्चालक हुनुहुन्छ ।

डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिनुभएको छ । शर्माले गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्