खोला आसपासका बस्ती डुबानमा



भक्तपुर । अविरल वर्षाका कारण भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । हनुमन्ते र मनोहरा खोला तथा अन्य साना खोला र खहरेमा आएको बाढीले भक्तपुर, चाँगुनारायण नगरपालिका तथा मध्यपुर र सूर्यविनायक नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुर नगरपालिकाअन्तर्गत भेलुखेल, हनुमान घाट, बाराही क्षेत्रका बस्ती डुबानमा परेका छन् । बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ ।

हनुमानघाट र यहाँको बस्तीनजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं राम मन्दिर, सँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय र यहाँका केही घरहरू डुबानमा परेका छन् । डा.इवामुरा मेमोरियल अस्पतालसमेत आंशिक डुबानमा परेको छ ।

यस्तै, चाँगुनारायण नगरपालिका–१ मा एउटा घर भत्किएको छ । स्थानीय वीरबहादुर केसीको चारकोठे घर भत्किएको हो । घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एकतले घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन । सो स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोस्टबाट उद्धार टोली खटिएर उद्धार गरेको छ ।

धान खेत पनि डुबानमा परेका छन् । तर, उद्धार गर्नुपर्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरालगायतका खोलाहरूको बहाव उल्लेख्य बढेको तर अहिलेसम्म उद्धार गर्नुपर्ने स्थिति नरहेको प्रहरीको भनाइ छ ।

यता, सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका आंशिक भूभाग डुबानमा परेका छन् । बालकोट रेडक्रस पछाडि, कौशलटारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानको जोखिममा परेको स्थानीयको भनाइ छ ।

मध्यपुरका हनुमन्ते र मनोहरा खोला आसपासका खेत तथा बस्ती पनि डुबानमा परेका छन् । हनुमन्ते खोला छेउमा रहेको सुन्दर नगर चारदोबाटोमा रहेको अन्नपूर्ण तरकारी बजार पूरै डुबेको छ । मनोहरा खोला छेउमा रहेको सुकुम्बासी बस्तीका केही घर पनि डुबानमा परेका छन् । खोला बस्तीमा पसेसँगै आसपासका स्थानीयलाई सास्ती भएको छ ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यस वर्ष डुबानमा खासै नपरे पनि करिडोर निर्माण हुन बाँकी रहेका भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौंको भौतिक क्षति भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्