काभ्रेका सात विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम



काभ्रे। 

नेपाली सेनाको कालिजंग गण धुलिखेलले जिल्लाका ७ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जुनियर डिभिजन तालिम साउन १ गते देखि सुरु भएको सिनियर डिभिजनको तालिम भाद्र १ गते बाट सुरु हुँदैछ ।

‘जिल्लाका पाँच विद्यालयमा जुनियर र दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराईरहेका छौं’– कालिजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘तालिमका लागि विद्यालय छनौटसँगै विद्यार्थी छनौट गरी आवश्यक प्रक्रिया प्रारम्भ गरिएको छ ।’ एसओएस बालग्राम, डिभाईन लाईट स्कुल, पुण्य माध्यमिक विद्यालय, सञ्जिवनी माध्यमिक विद्यालय, सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सुरु भएको छ भने आर्दश विद्या मन्दिर र बेलर स्कुल बनेपामा सिनियर डिभिजन तालिम हुनेछ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् भने सिनियर डिभिजनमा कक्षा ११ र १२ का विद्यार्थी सहभागी हुनेछन् । तालिममा प्रति विद्यालय १८ जना छात्र र १८ छात्रा प्रति डिभिजनमा सहभागी हुनेछन् ।

१ सय दिनको तालिममा ७९ दिन विद्यालयमै दिइनेछ भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रुपमा हुनेछ । ‘तालिममा विद्यार्थीहरुलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, ईमान्दारिता र बफादारीताका बारेमा सिकाईनेछ’–कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने –‘सैन्यलगायत मानवीय र सामाजिक क्षेत्रका बारेमा बालबालिकालाई तालिम दिइनेछ ।’ तालिमका लागि न्यूनतम मापदण्ड पूरा भएका बालबालिका छनोट गरिएको छ ।

 विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरण लगायतका विषयमा जानकारी गराइन्छ । विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम नेपाली सेनाले २०२२ साल कात्तिक ७ गतेबाट सुरु गरेको थियो । लामो समयसम्म उक्त तालिम थोरैले मात्रै प्राप्त गरेका थिए । आर्थिक वर्ष २०७२/२०७३ बाट नेपाली सेनाले उक्त तालिम पुनः सुरु गरेको हो । काभ्रेमा पनि उक्त तालिम आर्थिक वर्ष २०७१/२०७२ बाट सुरु भएको थियो ।  कोरोना भाइरसको अवधिमा भने उक्त तालिम सञ्चालन हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्