पहिरोले घर बगाउँदा १ को मृत्यु, ६ जना बेपत्ता



हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउँपालिका–५ मा घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा एकको मृत्यु र ६ जना बेपत्ता भएका छन् ।

सिक्रे दोभानमा रहेको अक्कलबहादुर स्यांतानको घर पहिरोले बगाउँदा एक महिलाको मृत्यु र ६ जना बेपत्ता भएका हुन् । पहिरोमा परेर घाइते भएकी अक्कलकी ५५ वर्षकी पत्नी सन्तमाया स्यांतानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको थियो । पहिरोमा परेर बेपत्ता भएकाहरुको स्थानीय र प्रहरीको सहयोगमा खोजी भइरहेको छ ।

वर्ष ६० का अक्कलबहादुर, उनकी छोरी वर्ष २२ की शीला पहरी, ज्वाईं वर्ष २५ का जीवन पहरी, नाति वर्ष ४ का मिलन पहरी, करिब डेढ वर्षकी नातिनी दिव्या पहरी र सिन्धुलीको हरिहरपुर गापा १, कोकटी बस्ने वर्ष १७ का पासाङ घिसिङ (पाहुना) को खोजी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष विजयकुमार ब्लोनका अनुसार सोमबार राति घरनजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेकाहरु घरसहित वागमती नदीमा बगेका छन् । स्यांतानको घरमाथिको खोल्साले गर्दा पहिरो गएको र घर बगाएर खोलामा मिसाउँदा उनीहरु बेपत्ता भएको मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पहिरो गएको स्थानमा एक घरमात्र रहेको जनाइएको छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमाक्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरीसमेत परिचालन गरिएको छ ।

विहान करिब ४ बजे मकवानपुरको वागमती गापा ५, सिक्रेदोभानस्थितमा रातिदेखिको वर्षाका कारण भलपहिरो आएर स्यांतानको घर बगाएको खबर ६ः३० बजे प्राप्त हुनासाथ भोर्लेनी चौकीका प्रसनि भीमबहादुर केसीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण वागमती प्रदेशको सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने तीन वटा सडक अवरुद्ध भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं, कान्तिलोकपथ, हेटौंडा–मुग्लिन–काठमाडौं सडकमा पहिरो खसेपछि अवरुद्ध भएको हो ।

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौंअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.२, ज्यालटारमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं.११, लामराङस्थित सडकमा पहिरो खस्दा कान्तिलोकपथ दुवैतर्फ अवरुद्ध भएको हो । उक्त क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक डिभिजन भतरपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलासहित ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्