पहिरोले एकै परिवारका ६ जना पुरिए



काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् ।
काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ ।
खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला ५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् । पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् ।
साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् । पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएको छ । अवस्था चिन्ताजनक रहेको स्थानीयलाई उदृत गरी गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए । पुरिएका मध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।
अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पाओर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ ।
अरनिको राजमार्गको बनेपा स्थित पुलबजार डुबानमा परेको छ । बनेपाकै १४ पेरुङ्गे सामुदायिक वन सँगै एउटा घर जोखिममा परेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना कालीजंग गण र प्रहरीको टोली घटनास्थल पुगेको छ ।
जिल्ला स्थित विपद ब्यवस्थापन समितिले नाागरिकहरुलाई सुरक्षित रहन र विपद परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको सूचना सार्वजनिक गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्