आणविक हतियारलाई निषेध गरौँ

हिरोशिमा र नागासाकी नरसंहारको ७८ औँ स्मृति दिवस



काठमाडौँ।

एफ्रो–एसियाली जनएकता संगठन (आपसो नेपाल) ले दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोशिमा र नागासाकीमा भएको नरसंहारको स्मरण गर्दै शनिबार आणविक हतियारलाई निषेध गर्न अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएका छन् ।

सन् १९४५ अगष्ट ६ तारिखमा हिरोसिमा र त्यसको तीन दिनपछि ९ तारिखमा अमेरिकाले प्रहार गरेको परमाणु बमबाट भएको नरसंहारको ७८ औँ स्मृति दिवसको पूर्वसंध्यामा आपसोले राजधानीमा एक कार्यक्रमको आयोजना गरी आणविक हतियारमाथि प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएको हो ।

कार्यक्रममा प्राडा मोतीलाल शर्माले हिरोसिमा र नागासाकीमा भएको विनासबारे कार्यपत्र प्रस्तुत गर्दै दक्षिण एसियामा पनि भारत, पाकिस्तान र चीन आणविक हतियारबाट सुसज्जित भएको भन्दै चिन्ता व्यक्त गरे । उनले यी देशहरूमा कुनै दुर्घटना भएमा त्यसको विकिरण हामीकहाँ पनि आउने भएकोले नेपालमा यसको अनुगमन गर्ने संयन्त्रको आवश्यकता रहेको बताए ।

डा. सविता श्रेष्ठले आणविक हतियार मानव सभ्यताकै कलंक भएको जिकिर गर्दै अहिले चलिरहेको रुस–उक्रेन युद्धलाई पनि वार्ताबाट समाधानको बाटोमा लैजानुपर्ने बताइन् । अहिले परमाणुको क्षेत्रमा निकै प्रगति भइसकेको उल्लेख गर्दै उनले युद्ध लम्बिंदै गएमा परमाणु हतियारको प्रयोग त्यतिबेलाको भन्दा पनि खतरनाक हुनसक्ने चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा नागासाकीको परमाणु बम आक्रमणलाई नजिकबाट नियालेका कोकुरा निबासी जापान आलाका सदस्य तोरु सिमदाले हिरोसिमा आक्रमणपछि अमेरिकाको कोकुरामा आक्रमण गर्ने योजना रहेको भएता पनि खराब मौसमका कारण ३ दिनपछि नागासाकीमा आक्रमण गरेको बताए । उनले आणविक हतियारलाई ‘नाइँ’ भन्नुपर्नेमा जोड दिँदै जापानले हालै मात्र रक्षा बजेट दोब्बर बनाएकोमा चिन्ता पनि व्यक्त गरे ।

आपसो नेपालका महासचिव प्राडा गोपाल पोखेल ‘विवश’ले मानव सभ्यता विरोधी आणविक हतियारको उत्पादन, भण्डारण र विक्री वितरण बन्द गराउन सबै शान्तिकामीहरूले दबाब दिनुपर्ने धारणा राख्दै हिरोसिमा–नागासाकीका जनताप्रति समबेदना र ऐक्यबद्धता व्यक्त गरे ।

अमेरिकी बमबर्षक विमानले खसालेको ‘लिटल ब्वय’ नामक परमाणु बमले हिसोसिमा क्षणभरमै खण्डहरमा परिणत भएको थियो भने दुई लाख मानिसको ज्यान जानुका साथै हजारौँ घाइते तथा अंगभंग भएका थिए । त्यसैगरी नागासाकीमा खसालिएको ‘फ्याट म्यान’ नामक परमाणु बमले ४० हजारभन्दा बढीको ज्यान लिएको थियो भने ३ किलोमिटर आसपासको क्षेत्र खरानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्