माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारीहरूको छलफल पेरिसडाँडामा



काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बेठक आज (बुधबार)बाट शुरू हुने भएको छ ।

बैठक विहान ११ बजे बाट शुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टी पदाधिकारीको बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय समितिको बैठकलाई कसरी व्यवस्थित र सदस्यहरूको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल हुनेछ । यसका साथै केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डामाथि पनि थप छलफल हुने भएको छ ।

पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजेदेखि शुरू हुने केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्