सदन अवरोधको निरन्तरता : एमालेले गरेको संसद् अवरोधको रास्वपाद्वारा विरोध



काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निरन्तर संसद् अवरोध गर्ने कार्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएको छ । सय किलो सुन अवैध रूपमा भित्रिएको विषयलाई लिएर संसद् अवरोध गर्दै आएको एमालेको कार्यप्रति मंगलबारबाट रास्वपाले विरोध जनाएको हो ।

एमालेले सय किलो सुन प्रकरणमा छुट्टै छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद्मा अवरोध गर्दै आएको छ । संसद् सञ्चालन गर्ने विषयमा मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठक चल्न नसक्दा जनताका मुद्दाहरू उठाउन नपाएको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रीको जवाफ सुन्ने होला । जवाफमा चित्त नबुझे त्यसपछि अगाडि बढ्ने प्रक्रिया होला । पुराना पार्टीहरूको अकर्मण्यताका कारण संसद् चल्न सकिरहेको छैन । यसबाट जनताका मुद्दा ओझेलमा पर्दैछन् ।’

सत्तापक्ष छानबिन समिति गठन गर्न तयार नहुने र प्रमुख प्रतिपक्ष छानबिन समिति गठन नभए संसद् चल्न नदिने अडानमा छन् । सोमबारको बैठकमा पनि गृहमन्त्रीले आफ्ना धारणा राख्ने भन्दै गर्दा प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएर बैठक मंगलबारलाई सारिएको थियो । मंगलबारको बैठकसमेत एमालेको अवरोधका कारण चल्न सकेन ।

जनताले सांसदहरूलाई आफ्नो कुरा संसद्मा राख्न र त्यसअनुसार नीति निर्माण गर्न पठाएको तर त्यसअनुसार व्यवहार प्रदर्शन गर्ने वातावरण संसद्मा बन्न नसकेको भन्दै रास्वपा सांसद मनिष झाले टिप्पणी गर्नुभयो–‘भित्र संसद् अवरोध गर्ने र बाहिर ‘लोकतन्त्र कमजोर भयो’ भन्ने प्रवृत्ति देखिएको छ । सदन अवरुद्ध गर्ने कुरा स्कुलमा ताला लगाएर मेरो समाज शिक्षित भएन भनेर बाहिर विरोध गर्नुजस्तै हो ।’ उहाँले संसद् बैठक अवरुद्ध भएकोले लम्पी स्किन, म्यानमारमा फसेका नेपालीको विषय, डेंगु नियन्त्रण, मधेसमा रोपाइँ नभएकोलगायत विषयमा बोल्न नपाइएको गुनासो गर्नुभयो ।

सांसद झाले सीमित नेताहरूका कारण सांसदहरू हतियार नभएका लडाकुहरू जस्तो हुन पुगेको टिप्पणी पनि गर्नुभयो । सुन प्रकरणको विषयमा लगातार संसद् अवरोध हुनु लज्जापद कुरा भएको भन्दै उहाँले भन्नुभयो– ‘छानबिन गर्ने निकायलाई ‘हाम्रा मान्छे थुन्लास् है भनेर थर्काउने’, अनि बाहिर आएर लोकतन्त्रको कुरा गर्ने प्रवृति मूल समस्याको रूपमा देखा परेको छ ।’ सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा सुन भनेर पित्तल चढाएको टिप्पणी गरेको समयमा भएको संसद् अवरोधको स्मरण गर्दै झाले एमालेले सदन अवरोधमै प्रायः समय खर्चने गरेको टिप्पणी गर्नुभयो । गत जेठ १३ गते एमालेले जलहरीका सम्बन्धमा माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने लगाएको थियो ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका निकायहरू रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राख्दै आएको एमालेले मंगलबार पनि संसद् चल्न नदिएपछि लामो समयदेखि अड्किएर रहेको शिक्षा ऐन सदनमा पेस हुन सकेन । प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षा ऐन प्रतिनिधिसभामा पेस गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्