माओवादी केन्द्रीय कमिटीको बैठक आजदेखि, चरम असन्तुष्टिका बाबजुद प्रत्यक्ष प्रसारण गरिने



काठमाडौं । पार्टीका युवा नेताहरूको चरम असन्तुष्टि बाबजुद नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कांग्रेसले जस्तै केन्द्रीय कमिटीको बैठकको प्रत्यक्ष प्रसारण गरेर पारदर्शी बन्ने आफ्नो निर्णयमा अडिग रहने भएको छ ।

यस विषयमा धेरै नेताहरूले असन्तुष्टि जनाएको भए तापनि प्रत्यक्ष प्रसारण नरोकिने जानकारी दिँदै पार्टी महासचिव देव गुरुङले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यस विषयमा प्राविधिक टोलीहरूले गृहकार्य गरिरहेका छन्, यो रोकिँदैन । अध्यक्षज्यूको फेसबुक पेजबाट लाइभ हुने टुङ्गो लागिसकेको छ । त्यसका लागि प्राविधिकले काम अगाडि बढाएका छन् ।’

बुधबारबाट शुरू हुने माओवादी केन्द्रको बैठकको पूर्व तयारी गर्न सोमबार बसेको पदाधिकारी बैठकले गरेको केन्द्रीय कमिटीको बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो । प्रत्यक्ष प्रसारण गरिएको खण्डमा आन्तरिक बैठकमा निर्मम छलफल र समीक्षा हुन नसक्ने भन्दै उक्त निर्णयविरुद्ध युवा नेताहरूले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई पदाधिकारी बैठकले अनुमोदन गरेको हो ।

पदाधिकारी बैठकले अनुमोदन गरे पनि पार्टीका अन्य नेताहरूले भने कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक मानिने केन्द्रीय समिति बैठक सार्वजनिक गर्नु उपयुक्त नभएको धारणा व्यक्त गरेका छन् । पूर्व विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पार्टी सचिव गणेश साहले प्रत्यक्ष प्रसारण गर्ने विषयमा धेरै नेताहरूको असन्तुष्टि रहेको बताउनुभयो । बढ्दो प्रविधिसँगै यसको उपयोग गर्नु ठिकै भए तापनि धेरैले पार्टीको आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु ठिक नभएको धारणा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘बुधबार बस्ने स्थायी समिति बैठकमा यसबारे छलफल हुन्छ ।’

पोलिटब्युरो सदस्य हिमाल शर्माले पनि कम्युनिस्ट पार्टीले अरू पार्टीको सिको गरेर आन्तरिक छलफल र मतभेदलाई बाहिर देखाउनु राम्रो नहुने भन्ने कोणबाट केही नेताहरूले सुझाव दिएको जानकारी दिँदै भन्नुभयो– ‘तर पार्टीले निर्णय नै गरिसकेपछि बैठक ‘लाइभ’ हुन्छ । यस विषयमा मेरो पनि धाारण ‘लाइभ’ गर्नुपर्छ भन्ने नै हो । यसबाट आम नागरिकले दलको राजनीतिक तथा वैचारिक धारणा र एजेन्डाहरूका बारेमा जानकारी पाउने छन् र राजनीतिमा खुल्ला बहस शुरू हुने छ ।’ उहाँले बैठकमा राजनीतिक तथा वैचारिक कार्यदिशाका सन्दर्भमा विशेष महाधिवेशन र सांगठनिक सुधारका विषयमा छलफल हुने बताउनुभयो ।

पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि भविष्यमा पार्ने प्रभावबारे गम्भीर छलफल नभईकन महत्वपूर्ण बैठकको प्रत्यक्ष प्रसारण गर्न नहुने पक्षमा हुनुहुन्छ । उहाँले सोमबार नै सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी बैठक घर, परिवार र जीवनजस्तै भएकोले परिवारका अन्तरङ्ग छलफल ‘लाइभ’ गर्न नहुने धारणा राख्नुभएको थियो । बैठकमा ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने भन्दै उहाँले ‘लाइभ’ गर्दा खुलेर आफ्ना धारणा राख्न नपाउने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने विषयमा पोलिटब्युरो सदस्य कमला रोक्काले पनि असन्तुष्टि जनाउनुभएको छ । कम्युनिस्ट पार्टीको बैठक गोप्य हुनुपर्ने भन्दै उहाँले यस विषयमा आफूले केन्द्रीय समिति बैठकमा नेतृत्वको ध्यानाकर्षण गराउने बताउनुभयो । कांग्रेसको सिको माओवादीले गर्न नहुने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यदि ‘लाइभ’ नै गर्ने भए खुलामञ्चमा सभा गर्न नेतृत्वलाई सुझाव छ । कम्युनिस्ट पार्टीभित्र केन्द्रीय समिति बैठकलाई निकै संवेदनशील र गोप्य मानिन्छ । देखाउने नाममा नाङ्गिन त भएन नि ? माओवादी पनि कांग्रेसकै बाटोमा जान खोजेको हो कि ? यस विषयमा बैठकमा कुरा उठाउँछौँ ।’

अर्का पोलिटब्युरो सदस्य धर्मशीला चापागाइँले पनि प्रत्यक्ष प्रसारण रोक्न आफूहरूले नेतृत्वलाई दबाब दिने बताउनुभयो । प्रत्यक्ष प्रसारण किन गर्न लागिएको हो भन्ने बुझ्न नसकिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘यस विषयमा केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौं । पार्टीको आन्तरिक विषय बाहिर ल्याउन हुँदैन । यो रोकिनुपर्छ ।’

केन्द्रीय समिति बैठक बुधबार प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे बस्नेछ । महासचिव गुरुङका अनुसार बैठक ५ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्