शरणार्थी प्रकरणमा मुछिएकासँग सम्पति शुद्धीकरणको बयान : पूर्वमन्त्रीद्वय खाँण र रायमाझीसँग छिट्टै बयान लिइने तयारी



काठमाडौं । सम्पति शुद्धीकरण अनुसन्धान विभागले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूसँग बयान लिन शुरू गरेको छ । सो प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतसँग छिट्टै बयान लिने तयारी गरिएको सम्पति शुद्धीकरण अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।

काठमाडौ जिल्ला अदालतको आदेशअनुसार सो प्रकरणमा मुछिएका १६ जना हाल कारागारमा छन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएको भन्दै १६ जनाविरुद्ध मुद्दा चलाउँदै उनीहरूलाई थप अनुसन्धानका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । सोहीअनुसार सम्पति शुद्धीकरणले उनीहरूको सम्पतिको बारेमा छानबिन गर्दै बयान लिन शुरू गरेको हो । विभागले विभागको प्रहरी शाखाका प्रमुख एसपी बसुन्धरा खड्काको नेतृत्वमा ललिता निवास प्रकरणमा मुछिएकाहरूसँग बयान लिन थालेको हो । जसअनुसार एसपी खड्का नेतृत्वको टोलीले सो प्रकरणमा प्रमुख योजनाकार मानिएका सानु भण्डारी र केशव दुलालको बयान लिइसकेको छ ।

विभागले थुनामा रहेकाहरूलाई आवश्यकताअनुसार विभागमा नै बोलाएर वा कारागारमा नै गएर बयान लिइने भएको छ । आरोपितहरू १ असारदेखि थुनामा रहँदै आएका छन् ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरूले विभिन्न अपराध गरेर धन आर्जन गरेको र त्यसलाई शुद्धीकरण गरेको हुनसक्ने भन्दै उनीहरूको सम्पति छानबिन गर्नुपर्ने ठहरसहित विभागमा छानबिनका लागि पठाएको थियो । सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि उनीहरूको चल अचल सम्पति र जायजेथाको बारेमा अनुसन्धान गरिरहेको बताइएको छ ।

विभागले सो प्रकरणमा मुछिएर थुनामा रहेकाहरू इन्द्रजीत राई, आङ्दावा शेर्पा, समशेर मिया, सन्दीप लामिछाने, सन्देश लामा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी, हरिभक्त महर्जनलगायतसँग पनि क्रमशः बयान लिइने जनाएको छ । बयानका क्रममा उनीहरूले सम्पति शुद्धीकरण गरेको देखिए सम्पति शुद्धीकरण ऐनअनुसार आवश्यक कारबाही थालिने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्