एउटै शवबाहन दुईपटक हस्तान्तरण



सिन्धुपाल्चोक। 

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका आ–आफ्नै काम, कर्तव्य र अधिकारका सीमा छन् । उनीहरुबीच आपसी समन्यवयमा मात्रै हरेक काम थप प्रभावकारी हुने गर्छ ।

तर, हाम्रो मुलूकका तीनै तहका सरकारबीच अहिले तालमेल र आपसी समन्वय भएको देखिँदैन, चाहे ती संघका मन्त्री हुन् वा प्रदेशका। आ–आफ्नै पाराले चल्ने गरेका ज्वलन्त उदाहरण थुप्रै छन् । उनीहरु न आफ्नो हैसियतअनुसार काम गर्छन्, न त कुनै समन्वय नै । अरुले गरेका कामको जस लिन भने मरिहत्ते गर्छन् । अहिले बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी र संघीय स्वाथ्यमन्त्री मोहनवहादुर बस्नेतबीच पनि यस्तै प्रचारबाजीको नियति देखियो ।

प्रसंग हो–अस्पतालहरुमा शवबाहन हस्तान्तरणको । गएको साउन १४ गते बागमती प्रदेश सरकार मातहतका ७ अस्पतालका सम्बन्धित प्रतिनिधिहरूलाई  प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले शवबाहन हस्तान्तरण गरे  ।

प्रदेश सरकारले एक कार्यक्रमका बीच आइतबारको दिन बागमती प्रदेश भित्रका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुली र चितवनको प्रादेशिक अस्पताललाई  शवबाहन हस्तान्तरण गरिएको थियो । शवबाहन हस्तान्तरण कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा पुगेका थिए । प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले डा.झालाई शवबाहान गाडीको चाबी हस्तान्तरण गरे ।

साउन १४ गते तर बागमती प्रदेश सरकारको यस्तो कामले एकै पार्टी नेपाली कांग्रेसका संघीय स्वास्थ्यमन्त्री बस्नेत चित्तप्रशन्न नभएको देखियो । जोशी कोइराला गुटका हुन् भने बस्नेत सभापति देउवाका साँढुभाई । प्रदेश मन्त्री जोशीले सिन्धुपाल्चोकसहित सात जिल्लालाई एकैपटक  शववहान हस्तान्तरण गरेको दुई दिनपछि जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेन्डेन्ट डा. झालाई आफूकहाँ बोलाए ।

दुईदिन अघि प्रदेश सरकारका मन्त्रीको हातबाट शवबाहन बुझेका उनै डा. झा बस्नेतको बोलावटपछि हानिएर साउनकै १६ गते मंलबारका काठमान्डौँमा पुगेर सोही शवबाहन हस्तान्तरण कार्यक्रममा पुगे । र मन्त्री मोहन बहादुर बस्नेतले सोही शवबाहन डा. त्रिभुवन झालाई नै चाबी दिएर हस्तान्तरण गरे ।

डा. झाले भने , “शवबाहन एउटै हो । १४ गते स्वास्थ्य मन्त्रीबाट चाबी हस्तान्तरण कार्यक्रमबाट लिएको थिएँ । सोही शवबाहनको चाबी मेैले फिर्ता दिएर आज संघका स्वास्थ्य मन्त्री ज्युले हस्तान्तरण गर्नुभएको हो । सात जिल्लामा हस्तान्तरण गर्दा मन्त्री बस्नेतज्युलाई टारगेट गरेर दिएको थियो अनि काठमान्डौँबाट फेरि लिएको हो ।” मन्त्री  बस्नेतले सो साँचो खामबन्दी गरे अनि चौतारा अस्पतालका डा झालाई हस्तान्तरण गरे । मन्त्री बस्नेतद्वारा चौतारा अस्पताललाई शवबाहन हस्तास्तारण भन्दै ब्यापक प्रचारबाजी गरियो । जिल्लावासी छक्क परे शवबाहन पाएको एक वा दुई भन्नेमा । दुवैले गरेको काम एउटै हो तर जस लिन उनीहरुबीच हानाथाप देखिएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, रसुवाको रसुवा अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र चितवनको बकुलहर रत्ननगर अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठका अनुसार मन्त्रालयबाट स्वीकृत कार्यक्रमअनुसार आर्थिक वर्ष २०७९/८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गरिएको हो । भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्