एमाले जनताको आकाङ्क्षाको नेतृत्व गर्ने पार्टी हो : महासचिव पोखरेल



रामेछाप ।

नेकपा एमालेका महासचिव शँकर पोखरेलले एमाले जनताको आकाङ्क्षाको नेतृत्व गर्ने पार्टी भएको बताउनु भएको छ । आइतबार पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेले सरकारको नेतृत्व गर्दा सो कुरा प्रमाणित गरेको बताउनुभयो ।

तर दुर्भाग्यको कुरा जनताको विकास र समृद्धिको नेतृत्व गरिरहेको नेकपा एमालेलाई घेराबन्दी गर्ने र नेतृत्व माथि आक्रमण गर्ने जुन प्रकारको दूषित प्रचार भइरहेको उहाँको दावी रहेको थियो । कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हितका साथै जनताको विकास र समृद्धिको सपना पूरा गर्ने अडान राजनीतिक दलमा हुनु पर्ने समेत बताउनुभएको थियो । राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हित विपरीत केही राजनीतिक दल आत्मसमर्पण गरेर अघि बढिरहेका उहाँले बताउनुभयो ।

पुष्पलालले जुन मान्यताको आधारमा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभयो त्यसको ऐतिहासिक विरासतको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयो । एमाले सरकारमा रहेको बेला पुष्पलालको जन्मथलो भँगेरीलाई व्यवस्थित गुरु योजनाका साथ अघि बढाएको भए पनि अहिले सरकारले त्यसलाई गतिका साथ काम नगरेको भन्दै पोखरेलले आलोचना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्