पनौतीको त्रिवेणी धाम सफाइ अभियानको दुई सय हप्ता 



काभ्रे। 

काभ्रेली सक्रिय महिला संगठन पनौती ८ काभ्रेले सुरु गरेको त्रिवेणी सरसफाइ अभियानको २ सय हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला नगर तहका नेताहरु, जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेताहरु, जिल्ला समन्वय समिति काभ्रे, सुरक्षा निकाय, विद्यालय, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

काभ्रेली सक्रिय महिला संगठनका तर्फबाट पनौती त्रिवेणी सरसफाइ नागरिक अभियान सुरु गरिएको थियो । संयोजक सुमित्रा बञ्जाराले निरन्तर २ सय हप्ता सरसफाइ गरिएको बताउनुभयो ।

धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्त्व बोकेको ऐतिहासिक नगर पनौती भित्र पाँच दर्जनभन्दा धेरै मठ मन्दिरहरु छन् । १२ वर्षे ऐतिहासिक मकर मेला तथा हरेक वर्ष फरक फरक जात्रा लाग्ने पनौतीमा प्रत्येक महिना स्थानीय पर्वहरु संचालन हुने गरेका छन् । पनौतीमा लिलावती, पुण्यवती र रुदावतीको संगम अथार्त त्रिवेणीमा जोडिएका गौतम ऋषि, अहिल्या, इन्द्र र सचिका पौराणिक तथ्य र किवदंती छन् । उत्तर प्रयागको रुपमा समेत पनौती प्रसिद्ध छ । उक्त प्रसिद्ध तीर्थका रुपमा चिनिएको त्रिवेणी धाममा हुने फोहोरलाई संकलन गर्ने र नियमित सरसफाइ गर्ने अभियानमा उक्त समूह सक्रिय रहँदै आएको थियो । ‘हरेक दिन शनिबार विहान खोलामा ५० देखि ७० जना महिलाहरुको समूह प्रवेश गर्दै आएको छ’–संयोजक सुमित्रा बञ्जाराले भन्नुभयो–‘तीन तहकै सरकारको पहल र समन्वय सरसफाइमा हुनु आवश्यक छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, गुरुराज घिमिरे, गणेश लामा लगायतका नेताहरु सहभागी थिए । त्यस्तै काँग्रेस नेता जगदिशनरसिं केसी, सरसफाइ अभियान्ताहरुको पनि सक्रियता रहेको थियो । संविधान सभा सदस्यहरु रामहरी सुवेदी लगायतको सहभागिता थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा तथा वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरु, प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकाल तथा नेपाली सेना र नेपाल प्रहरीको टोली, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, नेकपा एमाले नगर कमिटी अध्यक्ष सुरेश हुमागाई लगायत स्थानीय राजनीतिक दलका नेताहरु, संघ संस्थाका प्रतिनधिहरु भालेश्वर माध्यमिक विद्यालय तथा मल्पी इन्टरनेशनल स्कुलका विद्यार्थीहरु, सामुदायिक होमस्टे तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा वृक्षारोपण पनि गरिएको थियो । सरसफाइमा सहभागी भालेश्वर माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थी अस्विन थापाले त्रिवेणी धाममा फोहोर संकलनका लागि डस्विन राखिदिन, खोला तथा सडक किनारामा फोहोर नफाल्न, नियमित खोला सरसफाइ गरी सङ्गलो बनाउन नगरपािलकाले अवाश्यक कानुन र व्यवस्थापन गर्न सुझाव दिनु भयो । फोहोरलाई सफा गर्नेसँगै फोहोर नै हुन नदिन तर्फ सबै सक्रिय हुन सहभागिहरुले जोड दिएका थिए ।

सरसफाइपछि विपी विचारको चिन्तन

विपी विचार समाजले सरसफाइ कार्यक्रम समापनसँगै विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा वृक्षारोपण, माइती वृद्धाश्रममा फलफूल वितरण तथा परिष्कृत लोकतान्त्रिक पद्धतिको विकास अभियान विचार गोष्ठी आयोजना गरेको अध्यक्ष सुमित्रा आचार्य बञ्जाराले बताउनुभयो । गोष्ठीमा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सहभागी भएको स्थानीय नेता महेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्