कांग्रेसले राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौं : उपसभापति खड्का



काठमाडौँ।

नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नाे पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन्।

मङ्गलवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्काले कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन् । एमाले–माओवादी केन्द्रलगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उनले उल्लेख गरे ।

‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा हामी पुग्यौँ । आफूलाई विश्वासकाे मत दिएमा राष्ट्रपतिको चुनावमा एउटा वातावरण बनाएर कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ ।’ उहाँले भन्नुभयो

उपसभापति खड्काले सरकारले नागरिकलाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्नेमा जोड दिए । उनले नागरिककाे अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले अहिलेसम्म कुनै गल्ती र कमजोरी नगरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्