इन्धनमा स्वचालित मूल्य प्रणाली



काठमाडौं । नेपाल आयल निगमले अबदेखि इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसीलाई) सम्पूर्ण बक्यौता रकम चुक्ता गरेसँगै निगमले स्वचालित प्रणालीमा जाने निर्णय गरेको हो ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको जनाएको छ । निगमले एलपी ग्यासमा नाफा नराख्ने र डिजेलमा २ प्रतिशत र पेट्रोलमा २ दशमलव ५ प्रतिशत नाफा राख्ने निर्णय गरेको छ । यसअघि एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपियाँ मुनाफा थियो । निगमले पेट्रोलमा प्रतिलिटर ६ रूपियाँ र डिजेलमा प्रतिलिटर ४ रूपियाँ मूल्य घटाएको छ।

यसअघि आईओसीलाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले मूल्य घटाएको थिएन । अब आईओसीले पठाएको मूल्यसूचीअनुसार नै नेपालमा इन्धनको मूल्य घटबढ हुनेछ ।

आइतबार नै इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।
नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा र घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।

हवाई भाडा बढ्यो

वायुसेवा कम्पनीहरूले सोमबारबाट लागू हुने गरी आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले भाडादर बढाएका छन् । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै भाडावृद्धि हुने जानकारी दिएको हो ।

आर्थिक वर्ष २०८०÷८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेपछि भाडा बढेको हो । हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशतभ्याटमध्ये ६ प्रतिशतमात्रै जोड्ने भएका हुन् । यसअघि वायुसेवा कम्पनीले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क, हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्