यस वर्ष धानबालीका लागि मल प्रर्याप्त



वीरगन्ज ।

विगतमा अभावका कारण समस्या झेल्दै आएका कृषकहरुले यसपालि मल अभाव झेल्न नपर्ने भएको छ । मधेश प्रदेशका आठ वटै जिल्लामा यसपालि धान रोपाइँका लागि मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्जले जानकारी दिएको छ। कम्पनीसँग यस वर्ष प्रर्याप्त मल रहेको तथा केही मल आउने क्रममा समेत रहेकाले धान रोपाइँका लागि मल अभाव नहुने कम्पनीको दाबी छ।

कम्पनीको वीरगन्जस्थित कार्यालयमा हाल ६ हजार मेट्रिक टन युरिया मल र तीन हजार मेट्रिक टन डिएपी मल भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिनुभयो । उहाँले धान खेतीका लागि पर्याप्त मात्रामा पुग्ने मल कम्पनीसँग भएको बताउँदै केही मल ड्राइपोर्ट बन्दरगाहमा पनि आइपुगेको बताउनुभयो ।

यस वर्ष धान खेतीको लागि पर्याप्त मल गोदाममा रहेको र पहिलेको जस्तो हाहाकार नहुने बताउनुभयो । धान रोपाइँ सिजनका लागि पुग्ने गरी मल भएकाले मलको अभाव पहिलेको जस्तो नहुने बताउनुभयो । अहिले धान खेतीको लागि विभिन्न स्थानीय तहबाट सिफारिस लिएर डिलरले मल लगिरहेको पनि चौलागाईंले जानकारी दिनुभयो । धान रोपाइँका लागि दैनिक रूपमा डिलर कम्पनीबाट मल लगिरहेको तथा उनीहरूले स्थानीय किसानलाई उपलब्ध गराउने उहाँको भनाइ छ।

धान खेतीका लागि विभिन्न जिल्लामा मल पठाउँदै आएको बताउँदै कम्पनीका सूचना अधिकारी पुरुषोत्तम सिंहले प्रदेश सरकारले स्थानीय तहलाई निर्धारण गरेको कोटा प्रणालीअनुसार नै मल उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले पर्साको वीरगन्ज महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहका डिलरले मल लगिरहेको बताउनुभयो

। अन्य बाली लगाउने बेलामा जस्तै धान रोपाइँ गर्ने बेलामा पनि मलको माग भएकै समयमा देशमा मलको अभाव हुने गरेको छ। तर यसपालि कम्पनीले नै मल पर्याप्त भएको दाबी गरेकाले मल अभाव नहुने विश्वास गरिएको छ। तर, किसानले भने अहिले रोपाइँ पर्सा बारा जिल्लामा पूर्ण रुपले सुरु नै नभएकाले रोपाइँ सुरु हुने बेलामा मलको अभाव हुने भन्ने चिन्ता रहेको बताएका छन्।

अहिले पानी अभावमा पर्सामा कही कही मात्र धान रोपाइँ सुरु भएकाले मल पनि किसानलाई नचाहिएको तर रोपाइँ हुँदाचाहिँ के हुने भन्ने कुराको कुनै ग्यारेन्टी नभएको किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्