दार्चुला ।
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरू खोलिने भन्दै भारतीय प्रशासनले नेपाली प्रशासनलाई पत्राचार गरी जानकारी पठाएको छ ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रति दिन वृद्धि भइरहेको भन्दै जुनसुकै बेला पनि बाँधका ढोकाहरू खोलिन सक्ने जानकारी पठाएको हो ।
मौसम परिवर्तन भई वर्षातका कारण नदीको जल स्तर बढेको तथा जलाशयमा पानीको मात्रा वृद्धि भइरहेका बेला बाँधाका ढोकाहरू जुनसुकै बेला खोलिन सक्ने र सीमा नदी महाकाली नदीमा जल स्तर बढ्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता तथा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
जिल्लाको ब्यास गाउँपालिकाको वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको हो ।
दार्चुला देखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।











प्रतिक्रिया