लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौता



बुटवल। 

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य  र सहयोग सम्बन्धी सम्झौता भएको छ । बिहीबार दुई विश्वविद्यालयबीच सहकार्य र सहयोगका सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सहकार्य सम्झौता पत्रमा काठमाण्डौं विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयकातर्फबाट निमित्त उपकुलपति डा. तिलकराम आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

दुवै विश्वविद्यालय अनुसन्धान कार्यक्रमहरु सञ्चालन, संयुक्त उपाधि (ज्वाइन्ट डिग्री) सहितका प्राज्ञिक कार्यक्रम निर्माण, सञ्चालनमा सहमत भएका छन् । संस्थागत विकास तथा प्रवर्द्धन, प्राज्ञिक जनशक्ति आदान प्रदान, विद्यार्थीहरुको अन्तर विश्वविद्यालय प्राज्ञिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलपाहरुमा पारस्परिक सहभागिता दुई विश्वविद्यालयबीच हुनेछ ।

प्राज्ञिक उत्कृष्टता सहितको वैज्ञानिक अनुसन्धान, प्राज्ञिक एवम् शैक्षिक कार्यक्रमहरुद्वारा नेपाली जनताको जीवनस्तर उकास्नको लागि समष्टिगत एवम् दिगो विकासको समान उद्देश्य प्राप्तिका दुवै विश्वविद्यालयबीच वैज्ञानिक सेवा, सामग्री, प्रकाशन तथा सूचना आदानप्रदान, शैक्षिक तथा प्रशिक्षण कार्यक्रमहरूको योजना तथा कार्यान्वयन, शैक्षिक तथा जनहितका प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना संवत् २०५५ मा नेपालमा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलनद्वारा पारित प्रस्ताव अनुरुप नेपाल सरकारद्वारा २०६१ सालको अध्यादेश मार्फत स्थापित भई लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३ द्वारा पूर्णता प्राप्त भएको हो । बुद्धका उपदेशलाई विश्वशान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवम् अनुसरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवर्द्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षणसंस्थाहरू सञ्चालन गर्नु यस विश्वविद्यालयको प्रमुख कार्य रहेको छ ।

रुपन्देहीको लुम्बिनीस्थित विश्वविद्यालयमा बौद्ध अध्ययन, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाइड साइन्स संकाय गरी तीन संकाय छन् । विश्वविद्यालयका लुम्बिनीमा केन्द्रीय क्याम्पस र बुटवलमा सिटी क्याम्पस गरी दुई आंगिक क्याम्पस छन् । विश्वविद्यालय बौद्ध अध्ययनमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह, मानविकीतर्फ कानुन, ट्राभल एन्ड टुरिजम, पुरातत्त्व, संग्राहलय, ग्रामीण विकास लगायतका विषयहरु अध्यापन गर्दै आएको छ । स्कुल अफ डेभलपमेन्ट स्डडिजतर्फ डेभलपमेन्ट स्टडिज, एग्रो फरेष्ट्री विषय सञ्चालनमा रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको स्थापना वि.स. २०४८ मा प्राविधिक विश्वविद्यालयको रुपमा विज्ञान, प्रविधि तथा तीसँग सम्बन्धित क्षेत्रहरुमा दक्ष जनशक्ति तयार गर्ने मूल उद्देश्य सहित भएको हो । यसका ७ वटा सङ्कायहरु क्रमशः मानविकी, शिक्षा, इञ्जिनियरिङ्ग, कानुन, व्यवस्थापन, चिकित्सा र विज्ञान अन्तर्गत तत्सम्बन्धी स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका कार्यक्रमहरु सञ्चालित छन् । हाल नियमित शैक्षिक कार्यक्रमहरुका साथै यस विश्वविद्यालयले सामुदायिक सेवा कार्यक्रमहरु सञ्चालन गरी भविष्यमा शिक्षक एवम् विद्यार्थी आदान प्रदान कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय र अन्य गरी  ६१ संस्थाहरुसँग सहकार्य सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्