‘सेनालाई जोडेर प्रकाशित सामाग्रीमा सत्यता छैन’



काठमाडौँ। 

चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा रहेको कित्ता नम्बर २५ को जग्गाका विषयलाई लिएर प्रसारित सामाग्री प्रति राजेन्द्र शाक्य र सिताराम खड्काले विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् । असार १९ गते एक टेलिभिजनबाट अतिरञ्जित तरिकाबाट समाचार प्रसारण गरिएको भन्दै विज्ञप्ति मार्फत उनीहरूले आपत्ति जनाएका हुन् ।

२०५३ साल माघ २५ गते सिताराम खड्का र राजेन्द्र शाक्यले संयुक्त रुपमा खरिद गरेको उक्त जग्गा संधियार मनोज श्रेष्ठले मिचेको पाइएपछि नापी कार्यालयमा निवेदन दर्ता भएको थियो । नापी कार्यालयबाट खटिएको टोलीले उक्त जग्गाको नापजाँच गरी हाल साविक गर्दा उक्त जग्गाको क्षेत्रफल ७ रोपनी ९ आना भएको प्रमाणित भएको थियो । नापी कार्यालयले गरेको रेखाङ्कन अनुसार शाक्य र खड्काले जग्गा सुरक्षाका लागि पर्खाल लगाउने तयारी गर्दै गर्दा संधियार मनोज श्रेष्ठले निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटनमा रिट हालेका थिए । उच्च अदालत पाटनका न्यायाधीशहरु माधवप्रसाद पोखरेल र नरेश्वर भण्डारीको संयुक्त इजालासबाट २०७८ फागुन ११ गते रिट निवेदकले दाबी गरेको सार्वजनिक हक र सरोकारको प्रश्न नदेखिएको भन्दै शाक्य र खड्काको पक्षमा फैसला भएको थियो । अदालतको फैसला अनुसार सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी लगाइएको पर्खाललाई व्यक्तिको चरित्रहत्या गर्ने गरी प्रकाशित सामाग्री प्रति खड्का र शाक्यले आपत्ति जनाएका हुन् ।

उक्त भ्रामक समाचारले अदालतको समेत मानहानि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘भ्रामक र कपोकल्पित रूपमा प्रकाशित उक्त सामाग्रीको निन्दा गर्दै यस्ता भ्रामक, तथ्यहीन र कपोकल्पित समाचारको विश्वास नगर्नुहुन र पछि नलाग्नु हुन आमनेपाली दाजुभाइ दिदीबहिनी, शुभचिन्तक तथा सम्पूर्णमा अनुरोध गर्न चाहान्छौं’– शाक्य र खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हाम्रो व्यक्तिगत जग्गाका विषयमा उक्त सामाग्रीमा उल्लेख गरिएका तर्क र टिप्पणीहरुमा कुनै पनि सत्यता छैन’–विज्ञप्तिमा भनिएको छ–‘व्यक्तिगत चरित्र हत्या गर्नका लागि नेपाली सेना जस्तो स्वच्छ र गरिमामय संस्थाको नाम समेत जोडी भ्रामक र कपोकल्पित तरिकाले उक्त सामाग्री तयार गरेर प्रसारण भएको हाम्रो बुझाइ छ । भिडियो सामाग्रीमा दाबी गरिएको सार्वजनिक जग्गा मिचिएको भन्ने भनाइमा कुनै सत्यता छैन । हामीले हाम्रो जग्गा सुरक्षाका लागि उच्च अदालत पाटनको आदेश अनुसार नापी कार्यालयबाट खटिएको अमिन टोलिले लगाएको सिमांकन अनुसार पर्खाल लगाएका हौं । हामीले कुनै व्यक्तिको वा सार्वजनिक जग्गा एक इन्च पनि मिचेका छैनौ र मिच्ने कुरा सोच्न पनि सक्दैनौ । कुनै व्यक्तिको चरित्र हत्या गर्नकै लागि प्रायोजित रुपमा समाचार प्रकाशन गर्न लगाइएको भन्ने कुरा समाचारमा उल्लेख भएका विषयवस्तुहरु आफैले पुष्टि गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्