गैडा मारेको अभियोगमा तीन जना प्रहरीको नियन्त्रणमा



नवलपरासी ।

दूर्लभ एक सिंङ्गे गैँडा मारेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत साल माघ ६ गते पूर्वी नवलपरासीको मध्यविन्दु २ मा १४ वर्षको माउ र ४ वर्षको बच्चा गैँडा करेन्ट लाएर मारेको अवस्थामा भेटिएका थिए ।

सोही घटनाको अनुसन्धान गर्दै जाँदा निकुञ्जले घटनामा ५ जनाको संलग्नता रहेको र सो क्रममा ३ जनालाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पश्चिम नवलपरासी रामग्राम नगर पालिका १८ का होम बहादुर बिक, कृष्ण बहादुर महतो र शिखाराम थारू रहेकाछन् ।

दुई गैँडा एकै ठाउँमा मारिएको पेचिलो घटनासंगै निकुञ्ज प्रशासनले उनिहरूलाई गत बैशाख १२ गते पक्राउ गरि घटना घटेको जिल्ला डिभिजन बन कार्यलय पूर्वी नवलपरासी मार्फत लामो अनुसन्धान गरेको थियो ।

पक्राउ परेका तिनै जनालाई आवश्यक कानुनी कार्यबाहीका निमित्त अदालत पठाईएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेश तिवारीले बताउनुभयो । तिवारीका अनुसार घटना संलग्न पाइएका अन्य २ जना माथि पनि खोज अनुसन्धान भईरहेको छ ।

तस्कर समूहले स्थानीय नन्दभाउजु मध्यवर्ती क्षेत्र सेहरी स्थित सिद्धेश्वर मन्दिरबाट करेन्ट जोडेर रातको समयमा नारायणी नदी छेउ गैँडालाई बिद्धुतीय धरापमा पारी खाग काटेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्