किस्मतीका छुट्टाछुट्टै पतिबाट २ नागरिकता, प्रहरीले थाल्यो अनुसन्धान



धनगढी । 

केही समयअघि नेपालमा रास्वपाका सभापति तथा तत्कालीन बहालवाला गृहमन्त्री रबि लामिछाने दोहोरो नागरिकता प्रकरणमा तानिनुभएको थियो। उहाँको नागरिकता विवादपछि उजुरी परेको थियो। त्यसपछि उहाँले तत्कालीन अवस्थामा गृहमन्त्रीसहित भएभरका पार्टी सभापति समेतका पदबाट हात धुनु परेको थियो।

त्यसपछि उहाँले नेपालको कानुन बमोजिम नागरिकता पुनः प्राप्ती गरेर मात्रै पार्टीको हालको जिम्मेवारीमा फर्किनुभएको हो । त्यो त उहाँको नेपालको नागरिकता पुनः प्राप्तिको मामिला थियो। तर हालै सुदूर नेपालमा भने प्रदेशकै २ जिल्लाबाट फरकफरक नागरिकता लिएको घटना सार्वजनिक भएको छ ।

पहिले बैतडी र अहिले महेन्द्रनगर बस्दै आएकी किस्मतीदेबी चन्दले यस्तो कारनामा गरेको भेटिएको हो। उहाँको नाममा जिल्ला प्रहरी कार्यालय कंचनपुरमा उजुरी परेपछि यो तथ्य सार्वजनिक भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराका अनुसार चन्दले बैतडी र कंचनपुरबाट फरकफरक नागरिकताको प्रमाणपत्र लिएकी हुन्।

चन्दको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरिएको छ भने दोस्रो नागरिकतामा भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको बताइएको छ। उहाँले पहिला बैतडीमा विवाह गरेको र अहिले महेन्द्रनगरमा विवाह गरेर दोस्रो नागरिकता लिएको खुलेको हो।

उहाँको नागरिकता पहिकाको भन्दा फरक नाम, नयाँ पतिको नामसहित जन्ममिति पनि फरक छ। उनको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, नाप्रन७३३०१३-४३४, जारी मिति २०६३-१०-८ बैतडी, जन्ममिति २०४६-५-२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ भने पछिल्लो दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्ममिति २०३९-११-१०, नाप्रन ७५१००१-१३१२६, जारी मिति २०६७-४-२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ उल्लेख गरिएको छ।

प्रहरी स्रोतका अनुसार दोस्रो पति भनिएका गम्भीर चन्दले चन्दको दोस्रो नागरिकता बनाएका हुन्।गम्भीरले आफ्नी पहिलो श्रीमतीलाई छोडेर किस्मतीसित बिहे गरेका हुन्। अहिले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनीहरुको २ नागरिकतावाला काण्डका बिषयमा बैशाख २८ गते कञ्चनपुर प्रहरीमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्