डडेलधुराका पाँच कबुलियत वनमा व्यवसायी टिमुर खेती सुरु



राम धामी, डडेलधुरा । 

डडेल्धुराको अमरगढी नगरपालिका–८ का विभिन्न पाँच वटा कबुलियत वन समूहमा व्यवसायी रूपमा टिमुर खेती सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय डडेल्धुराको चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमअनुसार पाँच वटा कबुलियत वन समूहको कुल साढे १२ हेक्टर क्षेत्रफलमा १७ हजार टिमुरका बिरुवा रोपिएको हो । कबुलियत वन समूहमा आबद्ध उपभोक्ताहरूको आयआर्जन बढाउन र वन क्षेत्र संरक्षण सम्वद्र्धनका लागि व्यवसायी टिमुर खेती सुरु गरिएको डिभिजन वन कार्यालय डडेलधुराका डिभिजन वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो ।

टिमुर दाल र अचारमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाड जोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार पाँच सय मिटर उचाइमा टिमुरको खेती उत्तम मानिने डिभिजन वन कार्यालय डडेलधुराका सहायक वन अधिकृत कृष्णबहादुर बोहराले बताउनु भयो ।

पाँच वटै कबुलियत वन समूहका उपभोक्ताहरूलाई वन क्षेत्रको जमिन भागबन्डा गरेर टिमुर खेती सुरु गरिएको र आफूले टिमुर खेती गरेको क्षेत्रको टिमुर सम्बन्धित उपभोक्ता आफैले बेच्ने भएकाले उपभोक्ताहरूको आम्दानी वृद्र्धी हुने डिभिजन वन कार्यालयले जनाएको छ । बजारमा प्रति किलो रु आठ सय ५० रुपैयाँदेखि एक हजार रुपैयाँका दरले टिमुर बिक्री हुने गरेको डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले बताउनु भयो ।

राम्रो तरिकाले फलाउन सकेमा एउटा बोटमा चार किलोसम्म टिमुर फलाउन सकिने अमरगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नरबहादुर सीँकाले बताउनु भयो । वृक्षारोपण गरिएको चार वर्षपछि टिमुर उत्पादन सुरु हुने स्थानीय बताउँछन् । टिमुर खेतीबाट वन क्षेत्रको संरक्षणसँगै उपभोक्ताहरूको आम्दानी वृद्र्धी हुने भएकाले जिल्लाका अन्य स्थानमा पनि कार्यक्रम विस्तार गर्न आवश्यक भएको सुदूरपश्चिम प्रदेश सभाका सांसद डा. ताराप्रसाद जोशीले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रममा सहभागी डडेलधुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले टिमुरको वृक्षारोपण गरेर मात्रै उपलब्धि हासिल नहुने भएकाले संरक्षण सम्वद्र्धन गर्दै आम्दानी हासिल गर्न कबुलियत वन समूहका उपभोक्ताहरूलाई आग्रह गर्नुभयो । टिमुर खेतीले उत्पादन दिन थालेपछि एउटा परिवारले वार्षिक तीन लाखसम्म थप आम्दानी गर्न सक्ने डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ ।

टिमुर खेतीको लागि हिउँदमा ठन्डा र गर्मीमा न्यानो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुने प्राविधिक बताउँछन् । अन्य बालीको लागि उपयुक्त नहुने भिर पाखा बलौटे तथा पत्थरीको माटोमा यसलाई लगाउन सकिन्छ । माटोको अमलिएपन ६.५ देखि ७.० भएको बलौटे माटो यसको लागि सबैभन्दा उपयुक्त हुने गरेको डिभिजन वन कार्यालय डडेलधुराका सहायक वन अधिकृत रणेन्द्र सिंहले बताउनु भयो । उहाँले वन्यजन्तु र घरपालुवा जनावरहरूले पनि टिमुर खेतीमा क्षति नपुगाउने भएकाले वन क्षेत्रमा टिमुर खेती प्रवर्द्धन गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सभाकी सांसद सरस्वती खडकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा टिमुर खेतीको प्राप्त सम्भावना रहेकाले टिमुर खेती विस्तारसँगै प्रशोधन र बजारीकरणमा योगदान पुगाउन सकिएमा यहाँका बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनु भयो ।

टिमुर खेती शुभारम्भ कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी लगायत सर्वसधारणहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्