अनलाइनमार्फत सट्टाबाजी खेलाएको आराेपमाम चारजना पक्राउ



काठमाडौँ । 

विभिन्न अनलाइन ग्याम्बलिङ/अनलाइन क्यासिनो गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कंलकी बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाडौँ महानगरपालिका- १४ कंलकी बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् ।

 राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्टस् भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्