कथित बोक्सी आरोपितलाई २ वर्ष कैद सजाय, १ लाख क्षतिपूर्ति



धादिङ । कथित बोक्सी आरोपमा कुटपिट गरी तातो पन्यु डामेर घाइते भएकी ४९ वर्षीया एक महिलालाई जिल्ला अदालत धादिङले न्याय दिएको छ ।

लमजुङ जिल्ला राइनास नगरपालिका–३ का ४२ वर्षीय विष्णु भन्ने विमल परियार र धादिङको धुनीबेसी नगरपालिका–५ कि ३८ वर्षीया मुना परियारलाई जिल्ला अदालतको असार ११ गतेको इजलासले दुई–दुई वर्ष कैद गर्न, जनही २२/२२ हजार जरिवाना गर्न गर्न आदेश गर्दै पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिन फैसला गरेको जिल्ला अदालत धादिङका श्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।

बोक्सीको आरोप (कसुर र सजायाँ) ऐन २०७२ अनुसार बोक्सीको आरोप र ज्यानमार्ने उद्योगमा उनिहरूविरूद्ध जिल्ला अदालतमा विचाराधिन मुद्दा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १६ पेसीपछि मुद्दा फैसला गर्नुभएको हो ।

२०७८ पुस १ गते धुनीबेसी नगरपालिका–५ मा पीडितलाई पन्यूले डामेर र कुटपिट गरेर घाइते पारिएपछि स्थानीयबासीले उद्धारगरी सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाडौमा उपचार भएको थियो ।

पीडितकोउजुरीकोआधारमा सोही दिन गिरफ्तार गरी जिल्ला अदालतको आदेशले हिरासतमा राखेर अनुसन्धान भएको थियो ।

जिल्ला अदालतले कसुरदारहरूलाई २०७८ पुस २० गतेको आदेशले मुनालाई ३ लाख धरौटी राख्न र विमललाई पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशपछि पुनरावेदन अदालतले मुनालाई १ लाख धरौटी राख्न रविमललाई थुनामा राख्नु भन्ने आदेश दिएको थियो । मुनाले धरौटी रकम नराखेपछि दुवै कसुरदार कारागारमा थिए । कसुरदार र पीडित नातेदार पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्