इलाममा भीषण आगलागी, सात घर जलेर नष्ट



इलाम । आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् ।

माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गएराति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानीय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन । सोमवार राति करिब साढे २ बजेतिर शुरू भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांश समान पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन ।

विद्युत् सर्ट भई आगलागी भएको र आगलागीमा करिब ६० लाख रुपियाँको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्