सहकारीको १४ अर्व रुपियाँ हिनामिना गर्ने शर्मा पक्राउ



काठमाडौं । प्रहरीले शिव शिखर सहकारी र तुलसी सहकारीमा रहेको सर्वसाधारणको करिब १४ अर्व रुपियाँ निक्षेत्र हिनामिना गरेर फरार रहेका केदारनाथ शर्मालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेर सोमबार काठमाडौं ल्याएको हो । उनी नेपालबाट भागेर भारतको मुम्बईमा एकजना भारतीय नेताको घरमा लुकेर बसेका थिए ।

ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरेको पुष्टि गरेकी छन् । उनले शर्मा नेपालबाट भागेर महाराष्ट्र राज्यमा लुकेर बसेको अवस्थामा फेला परेको बताइन् । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने बज्राचार्यले बताइन् ।

शर्मा अध्यक्ष रहेको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । घटनामा मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनीविरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी छ ।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन् । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । ती कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा पर्यो ।

जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन् । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्