बलात्कार आरोपितविरद्ध मुद्दा दर्ता



धादिङ।

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका –४ का दुई जनाविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । बालिकालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बारीमा घाँस काट्न गएको बेला गजुरी गाउँपालिका –४ का ३७ वर्षीय सोमलाल तामाङले असार ३ गते बालिकालाई बलात्कार गरेकोले कारबाही माग गर्दै मुद्दा दर्ता गरिएको छ । सोमलाललाई प्रहरीले असार ९ गते गिरफ्तार गरी अदालतको अनुमतिले हिरासतमा राखेको छ ।

यसैगरी गजुरी गाउँपालिका –४ का डिलबहादुर रुम्बा तामाङ ले जेठ ६ गते बलात्कार गरेकोले कारबाहीको माग गर्दै असार १० गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपि सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । डिलबहादुरलाई असार ३ गते गिरफ्तार गरिहिरासतमा राखेको छ ।

पीडित बालिकाको असार १० गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका –४ का २४ वर्षीय शिवराम भण्डारीलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई आफ्नै घरमा बोलाएर पछिल्लो पटक असार ९ गते बलात्कार गरेको पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपि सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्