‘संविधान र लोकतन्त्रको रक्षा पत्रकारले गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका नेता सशांक कोइरालाले संविधान र लोकतन्त्रको रक्षा पत्रकारले गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरूले गर्नुपर्ने बताउनुभएको हो ।

७० वर्ष लगाएर संविधानसभाबाट ल्याएको संविधानमाथि प्रहार भइरहेकाले त्यसको रक्षाका लागि पत्रकाहरूले सचेततापूर्वक समाचार सम्प्रेषण गरेर खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ । हजार तरबारभन्दा कलम बलियो हुने भन्दै कोइरालाले पत्रकारको कलम संविधान र व्यवस्था रक्षाका लागि चलाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । कोइरालले भन्नुभयो– ‘७० वर्ष लामो संघर्षपछि लोकतान्त्रिक संविधान जारी भएको छ । संविधानसभाबाट बनेको यो संविधानमाथि कु गर्ने खतरा बढ्दै गएको छ । यसको रक्षाका लागि सबै पत्रकारहरूले तरबारभन्दा बलिया आफ्ना कलम चलाउनुपर्छ ।’

साथै, नेपाली कांग्रेसलाई सच्चिन खबरदारी गर्नु पनि प्रेस युनियनसम्बद्ध पत्रकारहरूको काम भएको उहाँले बताउनुभयो । कांग्रेसलाई पुनः जीवन दिन आवश्यक रहेको भन्दै नेता कोइरालाले पार्टी छियाछिया भएकाले बताउनुभयो । शुभेच्छुक संस्थाको हैसियतले युनियनले पार्टीको नेतृत्वलाई खबरदारी गर्नुपर्ने कोइरालाको भनाइ छ । ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ’, कोइरालाले भन्नुभयो– ‘अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडो याममा पात झरेको देखे पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएछ फेरि हरियो भएर जान्छ ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई एकतावद्ध बनाएर बलियो पार्टी बनाइराख्न प्रेसको भूमिका महत्वूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ’ नेता कोइरालाले भयो ।

प्रतिक्रिया दिनुहोस्