सरकारी सेवासुविधा लिनेका बालबालिका सामुदायिक विद्यालयमै पढाउनुपर्ने



 खोटाङ। 

 खोटाङको  खोटेहाङ गाउँपालिकाले सरकारी सेवासुविधा लिएका सबै खाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममै उक्त व्यवस्था गरेको हो ।

गाउँपालिकाको हालै सम्पन्न गाउँसभा तथा तेह्रौ अधिवेशनमा सो व्यवस्थासहितको नीति तथा कार्यक्रम पेश भएको अध्यक्ष उदिमबहादुर राईले उल्लेख गर्नुभयो । यस्तै, नीति तथा कार्यक्रममा गाउँपालिका र मातहत कार्यालयहरुले सार्वजनिक कार्यक्रम आयोजना गर्दा खादा तथा ब्याच बनाउने कामलाई पूर्ण रुपमा निशेध गर्ने उल्लेख छ । यसले फजुल खर्च बढाउनका साथै तामझाममा समय व्यतित् हुने भएकाले गाउँपालिकाले यस्तो नीति बनाइएको अध्यक्ष राईको भनाई छ ।

यस्तै, स्वरोजगार तथा सिप प्रवर्द्धनका लागि खोटेहाङमा ढाका बुनाई तथा परम्परागत हिसाबले सालको पातले बुन्ने गरेको दुना तथा टपरीको व्यवसायीक उत्पादन गर्ने नीति ल्याएको छ । गाउँपालिकाले कोसेली घरमार्फत यसको बिक्री वितरणको व्यवस्था मिलाउनेगरी नीति तथा कार्यक्रम ल्याएको छ ।
यसका अलवा गाउँसभाले यस आर्थिक बर्षभित्र गर्ने महत्त्वपूर्ण कार्यक्रमहरु पास गरेको छ । गाउँपालिकाले कृषि, पर्यटन, उद्योग र उद्यमशीलता जस्ता पक्षहरुलाई प्राथमिकता दिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्