आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै



काठमाडौं । 

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । नेपालले दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित पहिलो पटक खेल्न लागेको हो ।

नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग यही असार नौ गते खेल्नेछ । जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् । दुवै समूहबाट शीर्ष तीन÷तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् । आजै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्स भिड्ने छन् । उक्त खेल पनि मध्याह्न पौने एक बजे सुरु हुने छ । नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो । अमेरिका भने पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्