सुनकोशी–मरिण ठेक्का विवाद : प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न आङ्देम्बेको माग


काठमाडौँ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको आरोप लगाएका छन् ।

उनले ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुन मिच्ने अधिकार नरहेको उल्लेख गर्दै निर्णय प्रक्रियामा संलग्न प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले ठेक्का रद्द प्रकरणबारे सरकारलाई सात बुँदे निर्देशन दिँदै सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन भनेको थियो ।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको सुनकोशी–मरिण आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको छ ।

यस्तो महत्त्वपूर्ण आयोजनालाई सरकारी मनपरी र प्रशासनिक हस्तक्षेपको सिकार बनाइएको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।