अनेरास्ववियुले लोक सेवा आयोगका अध्यक्ष रेग्मीसमक्ष चार बुँदे लिखित माग



काठमाडाैं ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीसमक्ष चार बुँदे लिखित माग प्रस्तुत गरेको छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटीले लोक सेवा आयोगले लिने परीक्षा दस्तुर निःशुल्क गर्नदेखि लोक सेवा तयारी कक्षा सञ्चालन गराउने निजी संस्थाहरुलाई नियमन गर्नुपर्नेसम्मका माग गर्दै ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, विभिन्न पदहरुको पाठ्यक्रममा विषयगत ज्ञानभन्दा सामान्य ज्ञानलाई मात्रै बढी ध्यान दिएको भन्दै यसलाई पनि समयानुकूल गर्न अनेरास्ववियुले आग्रह गरेको छ ।

यस्ता छन् अखिलका मागहरुः

अनेरास्ववियु केन्द्रीय कमिटीले लोकसेवा आयोगमा आज लोक सेवा अध्यक्ष समक्ष लिखित माग प्रस्तुत गरेको छ।

१. लोक सेवा आयोगले लिने परीक्षा दस्तुर सम्बन्धमा

लोक सेवा आयोगलाई एक संवैधानिक अंगको रुपमा रहेकोमा आयोगको प्रथम दायित्व प्रत्येक नागरिकलाई आर्थिक रुपमा भार नपर्ने गरी धारा २४३ बमोजिम लिइने परीक्षाहरुमा सामेल गराउनु पर्ने हुनु पर्दछ । लोक सेवा ऐन, २०७९ को दफा ४८ हेर्दा सरकारले लोक सेवा आयोगलाई बजेटको व्यवस्था गर्ने भन्ने उल्लेख छ भने दफा ४९ ले दस्तुर तथा शुल्क आयोगले निर्धारण गरे बमोजिम हुनेछ भनी प्रावधान राखेको छ । यसरी वर्तमान रुपमा लोक सेवा आयोगले रु.१५०० सम्म दस्तुर लिने गरेकोमा यो प्रावधानले गरिब, बेरोजगार युवाहरुलाई लोक सेवा परीक्षाको फर्म भर्न समेत निरुत्साहित गरेको छ ।

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेकोमा प्रत्येक नेपालीले सरकारी /अर्धसरकारी सेवाको परीक्षामा सहभागी हुन पाउनु रोजगारीको हकसंग पनि जोडिएको हुनाले परीक्षा दस्तुरकै कारणले रोजगारीको प्रकृयामा सामेल हुन नपाउनु रोजगारीको हकको हनन समेत हो । अनेरास्ववियु लोक सेवा आयोगलाई सरकारसँग आवश्यक बजेट माग गरेर परीक्षा दस्तुरको सम्बन्धमा नि:शुल्क हुने निर्धारण गर्न आयोग समक्ष माग गर्दछ ।

२. परीक्षा पाठ्यक्रम सम्बन्धमा

लोक सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम तथा परीक्षण विधिका सन्दर्भमा आम युवाहरुको पहुँचमा पुग्न नसकेको देखिन्छ । सबै प्रकारका सेवाहरुमा विषयगत ज्ञानभन्दा सामान्य ज्ञानलाई पाठ्यक्रममा समावेश गरिएको भन्ने गुनासो सुनिन्छ । आम युवालाई पनि आफ्नो विषयगत ज्ञानका आधारमा लोक सेवा आयोगको परीक्षामा समावेश हुन प्रेरणा मिल्ने गरी परीक्षा प्रणली र विधिमा अन्तराष्ट्रिय प्रचलन अनुसार वैज्ञानिक ढंगले परिमार्जन गर्नुृपर्ने देखिन्छ । प्राविधिक पदका लागि लिइने परीक्षाहरुमा समेत विषय विज्ञतालाई आधार बनाएर परीक्षा प्रणलीको विकास गनुृपर्ने देखिन्छ । समयानुकुल पाठ्यक्रम परिमार्जनका लागि अनेरास्ववियु जोडदार माग गर्दछ ।

३. लोकसेवा परीक्षा तयारीका लागि खोलिएको नीजि संस्थाहरुको नियमन सम्बन्धमा ।

लोक सेवा परीक्षाको तयारी गराउने उद्देश्य राखेर खोलिएका निजी ईन्स्टीच्युटहरुलाई नियमन गर्नुपर्ने आवश्यक देखिन्छ । सरकारकै उच्च आहोदामा रहेका व्यक्तिहरुलनै निजि इन्स्टीच्युटहरुलाई प्रोत्साहान गर्ने, स्रोत व्यक्तिको रुपमा अध्यापन गराउने गरेकोमा यस्ता गतिविधीहरु रोक्न लोकसेवा आयोगले उपयुक्त कदम चाल्नका लागि अनेरास्ववियुको माग रहेको छ ।

४. डाटा हराएको विषयमा ध्यानाकर्ष सम्बन्धमा ।

केही समय अगाडी लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हराएको प्रकरणप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधीले भविष्यमा लोक सेवा आयोगको निष्पक्षतामा समेत प्रभाव पार्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माग गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्