आश्वासनमा समाज बहकिन थाल्यो : पूर्व उपप्रधानमन्त्री सिंह



काठमाडौं।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आश्वासनमा समाज बहकिन थालेको भन्दै गुनासो गर्नुभएको छ ।

राजधानीमा शनिबार आयोजित उग्रचण्डी नाला समाजको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेसका नेता एवं सांसद सिंहले यस्तो गुनासो गर्नुभएको हो । उहाँले भन्नुभयो–‘अहिलेको समाजले लोकतन्त्रका लागि दुःख कष्ट झेलेर आएका राजनीतिक पार्टी र जनताको सुखदुःखका साथी बनेका राजनीतिज्ञलाई भन्दा कुनै पनि योगदान नभएका नयाँ मान्छेको आश्वासनमा विश्वास गर्न थालेको छ ।’ उहाँले नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भन्नुभयो– ‘नयाँ मान्छेले यो गर्छु, त्यो गर्छु भन्दैमा पत्याइहाल्ने र सामाजिक सञ्जालमा छाएपछि उनीहरूकै हाइहाइ गर्ने जमात पैदा भएको छ । त्यो भनाइमा कतिको सत्यता छ, कसले कति दुःख गरेको छ भनेर हेर्नै छाडिसकेको छ। समाज रुपान्तरणमा समय लाग्ने मुखले भनेको भरमा तत्काल नहुने जिकिर गर्दै उहाँले भन्नुभयो– समाज पहिलाभन्दा निकै परिष्कृत भइसकेको छ । हामी समाजको सकारात्मक रुपान्तरणका लागि निरन्तर संघर्षशील छौं।’

कार्यक्रममा पूर्वमन्त्री शशी श्रेष्ठले विकास निर्माणमा पार्टीको सोचभन्दा माथि उठ्नुपर्नेमा जोड दिंदै भन्नुभयो–’देश समृद्ध भए, समाज समृद्ध हुन्छ, समाज समृद्ध भए मात्रै हामी हाँस्न सक्छौं । व्यक्ति मात्रै समृद्ध भएर पुग्दैन।’

कार्यक्रममा बनेपा वडा नं–४ उग्रचण्डी नालाका वडाअध्यक्ष श्यामसुन्दर श्रेष्ठले आफ्नो वडामा छिट्टै नै नगर अस्पताल निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले नगर अस्पताल नबनिन्जेल अहिलेको हेल्थ पोष्टमा २ जना चिकित्सकले २४ सै घण्टा सेवा दिने व्यवस्था गरिएको बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठले नालाको विकासका लागि नाला बाहिर रहेका नालामीहरूको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा नालाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्