– स्नातक तहमा ८७.८ प्रतिशत विद्यार्थी, स्नातकोत्तरमा ११.४१ प्रतिशत
– त्रिविमा ७३.७० प्रतिशत विद्यार्थी अध्ययनरत
– आयोगको बजेट खर्चमा चालुतर्फ ९९.४६ र पुँजीगततर्फ ८५.५५ प्रतिशत प्रगति
भक्तपुर ।
देशभर उच्च शिक्षा अध्ययन गर्ने छात्राको संख्या छात्रको भन्दा बढी देखिएको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको ३३औँ वार्षिक प्रतिवेदनअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये छात्राको संख्या ५६ दशमलव ५७ प्रतिशत पुगेको छ भने छात्रको संख्या करिब ४६ प्रतिशत मात्र छ । लैङ्गिक समानता सूचकाङ्क १ दशमलव ३ रहेको छ । यद्यपि, प्राविधिक शिक्षामा छात्राहरूको सहभागिता अपेक्षाकृत न्यून छ ।
उच्च शिक्षाको कुल भर्ना दर २४ दशमलव ३१ प्रतिशत रहेको छ, जुन विश्वव्यापी औसतभन्दा २० प्रतिशतले कमी हो । आयोगका अनुसार उच्च शिक्षा संस्थागत तथा भौगोलिक रूपमा विस्तार हुँदै गएको छ । हाल संघीय कानुनअन्तर्गत स्थापित १५ वटा विश्वविद्यालय र ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । यसका अतिरिक्त प्रदेश सरकारबाट स्थापित विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि सञ्चालनमा छन् । बर्दिबास, बुटवल र सुर्खेत मेडिकल कलेज पूर्वाधार विकासको क्रममा रहेका छन् ।
तथ्यांकअनुसार उच्च शिक्षा अध्ययनरत विद्यार्थीको संख्या ७ लाख २१ हजार २४६ पुगेको छ । त्यसमध्ये त्रिभुवन विश्वविद्यालयमा मात्र ७३ दशमलव ७० प्रतिशत विद्यार्थी अध्ययनरत छन् । त्रिविमा समेत छात्रको तुलनामा छात्राको संख्या बढी छ ।
देशभर विश्वविद्यालयका आंगिक क्याम्पस १६६, सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस ५९२ र निजी क्याम्पस ७५५ गरी जम्मा १ हजार ५१३ क्याम्पस सञ्चालनमा छन् । विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ५८ वटा कलेजमा ३४ हजार ५६५ विद्यार्थी अध्ययनरत छन् ।
विषयगत भर्ना हेर्दा व्यवस्थापनमा ४४.८४ प्रतिशत र शिक्षाशास्त्रमा २२ दशमलव ४ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । प्राविधिक तथा राष्ट्रिय प्राथमिकताका विषयमा विद्यार्थी भर्नाको हिस्सा करिब २१ प्रतिशत छ । कुल विद्यार्थीमध्ये स्नातक तहमा ८७ दशमलव ८ प्रतिशत र स्नातकोत्तर तहमा ११ दशमलव ४१ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।
उच्च शिक्षामा पहुँच र संस्थागत विस्तार उल्लेखनीय भए पनि विषयगत सन्तुलन, गुणस्तर, आर्थिक दिगोपन, अनुसन्धान, प्रविधिको उपयोग तथा श्रम बजारसँगको सम्बन्धमा थप सुधार आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
आयोगका निर्देशक केदार आचार्यले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा उच्च शिक्षाका लागि नेपाल सरकारबाट १९ अर्ब ७९ करोड १३ लाख २० हजार बजेट स्वीकृत भएकोमा १९ अर्ब १४ करोड ५४ लाख ८९ हजार निकासा प्राप्त भएको थियो । त्यसमध्ये १९ अर्ब १३ करोड ४४ लाख खर्च भएको छ । वार्षिक बजेटको पुँजीगततर्फ वित्तीय प्रगति ८५ दशमलव ५५ र चालुतर्फ ९९ दशमलव ४६ प्रतिशत रहेको छ । त्यसैगरी, उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमका लागि १ अर्ब ४९ करोड ४४ लाख १८ हजार निकासा प्राप्त भएकोमा १ अर्ब ४८ करोड ३ लाख ९० हजार खर्च भएको छ ।
आयोगले राष्ट्रिय योग्यता परीक्षण सञ्चालनका लागि आवश्यक निर्देशिका, २०८२ स्वीकृत गरी कार्यविधि, २०८२ जारी गरेको छ । परीक्षा सञ्चालन कार्यविधि, खर्च मापदण्ड तथा प्रश्नपत्र निर्माणका लागि दुईवटा कार्यदल गठन गरी काम अघि बढाइएको छ ।
उच्च शिक्षामा प्रतिभा पहिचान, अध्ययनसँगै काम गर्ने तथा स्वयंसेवक शिक्षक कार्यक्रमसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी सरोकारवालासँग छलफल भइरहेको आयोगले जनाएको छ । उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण विस्तार गर्ने उद्देश्यले विश्वविद्यालयहरूबीच संयुक्त उपाधि (ज्वाइन्ट डिग्री) तथा दोहोरो उपाधि प्रदान गर्ने अभ्यासलाई प्रोत्साहन, व्यवस्थित र प्रभावकारी बनाउन सहकार्यात्मक शैक्षिक उपाधि कार्यक्रम सञ्चालनसम्बन्धी व्यवस्था प्रतिवेदनमा समेटिएको छ ।








तपाईंको विचार लेख्नुहोस्