‘उच्च रक्तचाप हेरचाह ब्यवस्थापन पहल’ कार्यान्वयन शुरु 

नोपलकै पहिलो जिल्ला काभ्रेपलाञ्चोक 



काभ्रे । 
नेपालमै पहिलो पटक ‘बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला उच्च रक्तचाप हेरचाह ब्यवस्थापन पहल’ घोषणा गरी शुरु गरेको अभियानले तिब्रता पाएको छ । जिल्लाका १३ वटै पालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उच्चरक्तचाप सम्वन्धी आवश्यक तालिम प्रदान गरी उपकरण र प्रोटोकलका बारेमा जानकारी गराईएको छ ।
‘काभ्रेपलाञ्चोक जिल्ला भित्र रहेका उच्च रक्तचापका विरामीहरुको पहिचान, परिक्षण र नियन्त्रण गर्ने उदेश्यले नेपालमै पहिलो पटक यो कार्यक्रम शुरु भएको हो’–स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले भन्नुभयो–‘जिल्लाबासीहरुलाई उच्चरक्तचाप हुन नदिन, उच्चरक्तचाप भएका ब्यक्तिहरुलाई नियमित परिक्षण गरी नियन्त्रण गर्न र उच्चरक्तचाप पनि हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणलाई प्राथमिकता राखेका छौं ।’
काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार ३ लाख ६४ हजार नागरिकहरु मध्ये ५० हजार भन्दा धेरै नागरिकहरुमा यो रोगको लक्षण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ‘अभियान अन्र्तगत पहिलो चरणमा जिल्लामा रहेका १३ पालिकाका १ सय ३५ वटै वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिनेछ ।
तालिममा सहभागि स्वास्थ्यकर्मीहरुका लागि उच्च रक्तचापमा किन ध्यान दिने ? नियमित उपचार कसरी सम्भव छ ? उच्च रक्तचाप परिक्षण र मापन, रक्तचापको ब्यवस्थापन, उपचारमा हुन सक्ने जडता, क्लिनिकल स्पस्टिकरण, उच्च रक्तचाप नियन्त्रण गर्न मधुमेह रोगको ब्यवस्थापन, उच्च रक्तचाप सेवा कार्डको प्रयोग र नियमित फलोअप, उच्च रक्तचाप मापनका सूचकहरु, औषधीको प्रयोग तथा वितरण लगायतका विविध विषयमा जानकारी गराउँदै उच्च रक्तचाप गर्ने उपकरण समेत उपलब्ध गराएका छौं’–स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोतमराज सेढाईले भन्नुभयो–‘एक साता भित्र सबै स्वास्थ्यकर्मी तालिम प्राप्त गरेर कार्यक्षेत्रमा पुग्नु हुनेछ ।
असार महिना भित्र नै काभ्रेपलाञ्चोक जिल्लाको केहि तथ्याङ्क र सूचकहरु प्राप्त हुनेछन् ।’ भुम्लु, बेथान्चोक, खानीखोला, महाभारत लगायतका पालिकाकाहरुको तालिम सम्पन्न भएको छ भने अन्य पालिकाहरुको तालिम धमाधम भईरहेको छ । जिल्लालाई उच्चरक्तचाप हेरचाह ब्यवस्थापन पहलका लागि विश्व स्वास्थ्य संगठनका साथै तीन तहकै सरकारको सहभागिता छ ।
विश्व स्वास्थ्य संगठन, संघ सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, बामगती प्रदेशको प्रदेश स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरु, जिल्ला समन्वय समिति काभ्रे र १३ वटै पालिकाहरु, स्वास्थ्य संस्थाहरुको सहभागिता रहेको छ । तालिम र अभियानका लागि विश्व स्वास्थ्य संगठनका तर्फबाट नसर्ने रोग प्रमुख नेपाल प्रतिनिधि डा. ग्याम्पो दोर्जे, विश्व स्वास्थ्य संगठनमा कार्यरत डाक्टहरु रैस पोखरेल, अनुप विक्रम विसी, पोषण लामिछाने, डा. कमलेष यादव, परामर्शदाता डा. राघवेन्द्र पट्टेल, धुलिखेल अस्पतालमा कार्यरत डाक्टरहरु आभा श्रेष्ठ र पुष्पाञ्जली अधिकारी, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाई र जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठ लगायतले उच्च रक्तचापका विषयमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनु भएको थियो । स्वास्थ्कर्मीहरुले आफ्नो वडामा उच्च रक्तचाप सम्वन्धी ब्यक्तिहरुको पहिचान गर्नेछन् । परिक्षण गर्नेछन् । अनि निरन्तर फलोअप गरी निशुल्क औषधी उपलब्ध गराउने छन् । औषधीका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गरेका छन् । निरन्तर औषधी सेवन तथा रहनसहन परिवर्तन गराउन स्वास्थ्कर्मीले खेलेको भूमिकाका आधारमा उच्च रक्तचाप नियन्त्रण गराउने छन् । जिल्लालाई उच्च रक्तचाप नियन्त्रण गराउन स्थानीय जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने सहभागिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्