मधेशमै खानेपानीको हाहाकार



वीरगन्ज।

पानीका लागि उपयुक्त जग्गा मानिएको तराई मधेशमा नै पानीको अभाव देखिन थालेको छ । मध्य तराईको पर्सा–बारामा चपाकल सुकेर पानीको हाहाकार भएको हो ।

लगातारको गर्मीका कारण अहिले पर्सा बाराका अधिकांश चापाकलमा पानी आउन छाडेको छ। चापाकल सुकेर पानी आउन छाडेपछि मानिस पानी खोजी गर्दै अरुको घरबाट पानी ल्याउन बाध्य छन्। पर्यावरणमा परेको असर वनजंगल विनाशका कारण पछिल्लो समय पानीको स्रोत सुकेकाले चापकलबाट पानी आउन छाडेको बिज्ञहरुको भनाइ छ ।

पर्सा–बाराका हरेक घरमा खानेपानीका लागि जडान गरिएको चापाकल सुकेपछि कहाँबाट पानी ल्याउने भनेर स्थानीय चिन्तित बनेका छन्। बढ्दो गर्मीसँगै चापकलले पानी दिन छाडेपछि अहिले पानीको स्रोत के हुने भन्नेबारे सबैले चासो दिएका छन्। तर, पर्सा र बारामा करोडौँ लागतमा बनाइएका खानेपानी ट्यांकी अलपत्र परेका छन्।

दुवै जिल्लाका विभिन्न स्थानीय तहमा पिउने पानीका लागि करोडौँ खर्चेर बनाइएका खानेपानी ट्यांकी अहिले अलपत्र अवस्थामा छन्। सोमध्ये थुप्रै खानेपानी ट्यांकी निर्माण सम्पन्न भइसकेका छन्। यसरी निर्माण सम्पन्न भएका खानेपानी ट्यांकी ०६४ सालतिरबाट निर्माण गर्न शुरु गरिएको थियो। निर्माण सम्पन्न गरेर छाडिएका ती खानेपानी ट्यांकी सञ्चालन गर्न सकिए त्यसबाट हजाराँै घरधुरीमा सहजै खानेपानी वितरण गर्न सकिन्छ। तर, स्थानीय उपभोक्ताको बेवास्ता तथा पालिकाले पनि ती खानेपानी ट्यांकी सञ्चालन गर्न ध्यान दिएका छैनन्।जडान गरिएका चापाकलमा पानी आउन छाडेर हाहाकार भएका बेला यदि त्यस्ता खानेपानी ट्यांकी सञ्चालन गर्न सकिए सहजै पानीको आपूर्ति हुने पर्सा बारा कार्यक्षेत्र भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख किशोरीप्रसाद यादवले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बिन्दबासिनी गाउँपालिका, ठोरी गाउँपालिकालगायत स्थानमा आधा दर्जनभन्दा बढी खानेपानी ट्यांकी त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा गाउँपालिकामा निर्माण सम्पन्न भएर सञ्चालनको पर्खाइमा रहेको यादवले बताउनुभयो । यस्ता खानेपानी ट्यांकी सञ्चालन गर्नका लागि खासै बढी रकम नचाहिने भए पनि स्थानीय उपभोक्ता नै चासो नदिएको तथा स्थानीय तह पनि उदासीन भएका कारण खानेपानीका योजना सञ्चालन गर्नमा कठिनाइ भएको उहाँको दाबी छ । मनसुन सुरु हुनै लागेका कारण अब पानीको समस्या भने धेरै दिन नहुनेमा स्थानीयहरु भने आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्