नाक्चेलाग्ना नाका ३ बर्षसम्म नखुल्दा मुगुका बासिन्दामा कठिनाई



मुगु ।

तिब्बतसँग जोडिएको मुगुको नाक्चे लाग्ना नाका गएको ३ वर्षदेखि बन्द भई नखोलिँदा स्थानिय सीखथमावर्ती बस्तीका बासिन्दा प्रत्यक्ष रुपमा कठिनाइ भोग्नु परेको छ । यसअघि जिल्लाको उत्तरी भेगमा पर्ने तिब्बती नाका नाक्चे लाग्ना वर्षको एकपटक व्यापार व्यवसायका लागि एक सातादेखि दुई सातासम्म नाका खुला गर्ने गरेको थियो । गएको तीन वर्षअघि कोभिडका कारण देखाई उक्त नाका चीन सरकारले बन्द गरी दिँदा मुगुका सीमावर्ती बस्तीका बासिन्दालगायत मुगालीलाई सास्ती भोग्नुपरेको छ ।

तिब्बती सीमावर्ती बस्तीहरु मुगुम कार्मारोङ्ग गाउँपालिकाको १ देखि ९ वडा सम्मका बस्तीहरु चिताई, दोल्फु मुगुम, कार्र्ती, किम्री, खारी, ताखा, दाउरा, सेरोग, पुअ, रिउस, मह, माग्रीलगायतका अन्य बस्तीका बासिन्दा यो नाका बन्द हुँदा सास्ती भोगिरहेका छन् । तिब्बतबाट आयत गरिने बस्तु र निर्यात हुने बस्तु त्यहाँमा लिन र खरिद–बिक्री गर्न नपाँउदा गएका वर्षदेखि समस्या झेल्दै आएका यी बस्तीका बासिन्दाले दैनिक उपभोग्य बस्तुदेखि भोटे बस्तीमा प्रयोग गरिने लुगा लत्ता र अन्य बस्तुहरु चर्को ढुवानी तिरेर काठमाडौँलगायत भारतबाट ल्याउनुपरेको कार्मारोङ गाउँपालिका गुरु स्याग्याप लामाले बताए ।

तिब्बती सीमानजिकका गाउँ दोल्फु, मुगु, कार्ती, चिताई, सिम्रीका स्थानीय बासिन्दा तिब्बत पुगेर स्थानीय सामग्री चुलीको चाना, सलगामको भुजा, फापरको पिठो ,जडीबुटीलगायत अन्य सामग्री लगेर बेच्ने गर्छन् भने तिब्बतबाट घिऊ, चियापत्ती, मदिरा, छुर्पी, चामल, लुगालत्ता, मैदा, ऊन, नुन र अन्य खाद्य बस्तु वर्षेनी निर्यात गर्ने गर्थे । जसका कारण नाका बन्द हुँदा व्यापार–व्यवसायमा र बस्तु ढुवानीमा स्थानीयले चर्को मुल्यको असर भोग्नुपरेको कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

विगतका वर्षहरुमा एकपटक हाटबजार लागेपछि यहाँका स्थानीय बासिन्दाको चौरी, घोडा, खच्चडमा भारी बोकाएर सामान ओसार्र्ने गर्थे । वर्षेनी तिब्बतमा हाट बजारमा पुगेर वर्षभरीका लागि आवश्यक सामान निर्यात गर्ने गरेको स्थानीयको भनाइ छ ।

उक्त नाका खोल्न राज्यपक्षबाट पहल कदमी गरेमा सधैका लागि नाक्चे लाग्ना नाका खोलिएमा स्थानीय सीमावर्ती बस्तीलाई मात्र नभई मुगुबासीलाई सहज हुने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको भनाइ छ ।

मुगु एक ब्यापारिक केन्द्र बन्ने भएकाले र स्थानीय सीमा नजिकका बस्तीलाई पनी जडीवुटी ब्यापारदेखि परम्परागत मित्रेरी साइनोजस्ता कार्यमा सहजता उनले बताए ।

‘मुगु जिल्लाको तिब्बतसँग जोडिएको नाक्चेलाग्ना नाका खुलाउन नेपाल सरकारले तत्काल पहल गर्नुपर्छ । र, सीमा सुरक्षा बैठकमा स्थानीय सुरक्षा समितिलाई पनि समावेश गरिनुपर्छ,’ प्रजिअ थापाले भने

प्रतिक्रिया दिनुहोस्