कृषिमा ८.५६ प्रतिशत बजेट : नगरपालिकामा थप लगानी बढाउन प्रमुख-उपप्रमुखको प्रतिबद्धता



धादिङ । कृषि क्षेत्रको लगानी बढाउने योजना गर्न धुनीवेशी नगरपालिकाको कृषि क्षेत्रमा विनियोजित बजेटको विश्लेषण गरिएको छ ।

चालु आर्थिक वर्षको कुल बजेट ८८ करोड ८३ लाख २६ हजारमध्ये आर्थिक विकास क्षेत्रमा ७ करोड ६० लाख ४५ हजार, सामाजिक विकास क्षेत्रमा २९ करोड ३७ लाख ४४ हजार, पूर्वाधार विकासमा ३० करोड १० लाख २५ हजार, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा १ करोड ६० लाख ५० हजार र कार्यालय तथा प्रसासनिक क्षेत्रमा २० करोड १४ लाख ६२ हजार विनियोजन गरेको थियो ।

कृषि क्षेत्रमा विनियोजन गरेको बजेट ८ दशमलव ५६ प्रतिशत रहेको छ । यसैगरी सामाजिक विकास क्षेत्रमा ३३ दशमलव शून्य ३ प्रतिशत, पूर्वाधार विकासमा ३३ दशमलव ८८ प्रतिशत, १ दशमलव २८ प्रतिशत र कार्यालय तथा प्रसासनिक क्षेत्रमा २२ दशमलव ६७ प्रतिशत रहेको छ ।

छलफल कार्यक्रमका अवसरमा खाद्य अधिकार सञ्जालको तर्फबाट गीता रेग्मी सुवेदीले कृषि क्षेत्रमा लगानी बढाउन माग गर्दै १६ बुँदे ज्ञापनपत्र बुझाउनुभयो ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुताका लागि खाद्य तथा पोषण सुरक्षा योजनाले निर्दिष्ट गरेका क्रियाकलाप तथा कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने, आगामी नीति कार्यक्रम र बजेटमार्फत किसानको पहिचान तथा वर्गिकण गरी परिचय–पत्र वितरण गर्नुपर्ने, खाद्य समन्वय समिति गठन गरी खाद्य सहायता परिचयपत्र वितरण गर्ने व्यवस्था गर्नुपर्ने, वास्तविक किसानलाई कृषि सेवा र अनुदानको दायरामा ल्याउन विद्यमान अनुदानको वितरण प्रणालीमा सुधार गरी विपन्न किसानलाई बीउपँुजी अनुदान र व्यावसायिक किसानलाई खेतवारीमै गई उत्पादनमा आधारित प्रोहत्सान अनुदान दिने नीति अवलम्वन गर्न माग गरिएको छ ।

यसैगरी कृषि तथा पशुपंक्षीमा रैथाने बाली प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरी बीउ तथा नश्ल प्रवद्र्धन गरी प्रांगारिक खेतीमार्फत स्वच्छ र दिगो कृषिमा जोड दिनुपर्ने, जग्गा भाडामा लिई. तरकारी, फलफुल, धान, मकै, गहुँ, दलहन, एवं मासुजन्य पदार्थ जस्ता आधारभूत खाद्यवस्तु उत्पादन गर्ने किसानका निमित्त प्रतिरोपनीमा न्यूनतम भाडा नगरपालिकाले तिर्ने व्यवस्था गर्नुपर्ने, कृषि उपज वस्तुको संस्थागत र सहज, सरल बजारिकरण लागि संयन्त्र निर्माण, पूर्वाधार र संरचना विकास गरी किसानलाई कृषि उपजको सोही दिन मूल्य निर्धारण र नगद पाउने वातावरण मिलाउनुपर्ने माग गरिएको छ ।

यसैगरी.धुनीवेशी नगरलाई पर्यवारणीय नगरका रूपमा विकास गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न होमस्टे (घरबास कार्यक्रम) सञ्चालन गर्न प्रोहत्सान गर्नुपर्ने, हाल नेपाल सरकारबाट आउने रासायनिक मल अनुदान पर्याप्त नभएकाले कृषि बाली पिच्छे आवश्यक हुने मलको विश्लेषण गरी (मल मागको तथ्यांक अद्यावधिक गरी) मलको माग बढाउनुपर्ने र अनुदानमा आएको रासायनिक मल बिक्री वितरणमा सरल प्रणाली अपनाउनुपर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्न पशुवस्तुको नश्ल सुधार गर्न विषेश अभियान सञ्चालन गर्नुपर्ने, किसानहरूको कृषि बाली र पशुपंक्षी क्षेत्रको लगानीमा जोखिम घटाउन किसानहरूलाई विमा गर्न प्रोत्सान गरी बिमा कम्पनीलाई किसानको घर दैलोसम्म पुग्ने वातावरण मिलाउनु माग गरिएको छ ।

यसैगरी उपेक्षमा परेका कृषकहरूलाई स्थानीय सरकार अभिभावक हो भन्ने प्रत्याभूति गराउन कृषकहरूको सामाजिक सुरक्षाको सुनिश्चितताका लागि कृषक लगानी कोष सञ्चालन गर्नुपर्ने, पछिल्लो समय आधुनिकीकरणका नाममा सरकारले हाते ट्याक्टर वितरण गर्दा गोरुको संख्यामा गिरावट आएको छ ।

गोरुको संख्यामा गिरावटा आँउदा प्राङगारिक पदार्थ अर्थात् गोठमल घटेको छ भने ट्याक्टर खरिदमा अरबौँ पैसा बाहिरिएको छ । गोरु पालक कृषकलाई प्रोत्साहन स्वरूप वार्षिक रूपमा गोठालो भत्ता र गोरु किन्ने किसानलाई अनुदान दिने व्यवस्था मिलाउनुपर्ने र धुनीवेसीको मुख्य उत्पादन कृषि उपज वस्तु हो भन्ने आधार पुष्टि गर्न मुख्य राजमार्ग क्षेत्रमा पालिकास्तरीय तरकारी बजार तथा दुग्ध चिस्यान केन्द्र निर्माण गर्न पहल गर्नुपर्ने, धुनीवेसी नगरलाई कृषि क्षेत्र कै रूपमा काम राख्न प्रदुषण निम्त्याउने उद्योग कलकारखाना स्थापना तथा सञ्चालन नगर्ने नीति अवलम्वन गरी सञ्चालनमा आएका उद्योग कलकारखानालाई वातावरण मैत्री बनाइ कृषकलाई निर्धक्क भएर कृषि कर्म गर्न पाउने वातावरण मिलाउनुपर्ने र खेतवारीमै काम गर्दागर्दै सिक्दै र कमाउँदै प्राविधिक ज्ञान सीप युक्त कृषक तयार गर्न रेडियोमार्फत कृषक दुरशिक्षा पाठशाला (कृषि तथा पशुपंक्षी सम्वन्धी) तालिम सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले माग पत्र सुनेपछि कृषकका लागि गर्न धेरै बाँकी रहेको रहेछ भन्ने महसुस मात्र भएन गोरु पाल्लने किसानलाई गोठालो भत्ता र गोरु किन्न अनुदान दिनुपर्ने भन्ने कुराले मन छोएकोले नीति तथा कार्यक्रम र बजेट बनाउने वेला छलफल गर्ने बताउनुभयो ।

धुनीबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेतीले नगरपालिकाले गरेको लगानी किसानसम्म पुग्न नसकेको स्वीकार गर्दै सवै किसालाई हुने र व्यावसायीक किसानलाई हुने गरी बजेट बनाउने बताउनुभयो ।

नगरपालिका प्रमुख वालकृष्ण आर्चायले वास्तविक किसानका सवाल सञ्जालमार्फत आएकोले किसानहरूको सामाजिक सुरक्षा कसरी गर्ने, हामीले कृषक लगानी कोष सञ्चालन गर्ने, अघिल्लो आवमा नीति कार्यक्रममा ल्याएका काम बजेट अभावले गर्न नसकिएको सन्दर्भमा यसवर्ष किसानका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खाद्य अधिकार सञ्जाल धुनीवेशी र फियान नेपालको संयुक्त आयोजनामा छलफल कार्यक्रम आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्