कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, कारबाहीको चेतावनी

देउवा पक्ष खुलामञ्चमा, गगन पक्ष अनुशासनात्मक कारबाहीको तयारीमा


–देउवा पक्षले मंसिर २१–२४ गते आठ हजार प्रतिनिधिसहित १५औँ महाधिवेशन गर्ने तयारी
–निर्वाचन आयोगको निर्णयपछि पनि देउवा पक्ष अदालतको पुनरावलोकनबाट आधिकारिकता पाउने दाबीमा
–गगन पक्षले समानान्तर महाधिवेशनमा सहभागी जनप्रतिनिधिलाई राजीनामा दिन वा कारबाही भोग्न चेतावनी

काठमाडौँ ।

नेपाली कांग्रेसको आन्तरिक विवाद नेतृत्वको दाबीबाट समानान्तर महाधिवेशन र अनुशासनात्मक कारबाहीको चरणमा प्रवेश गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौँमा छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी तीव्र पारेको छ भने सभापति गगन थापा नेतृत्वको पक्षले समानान्तर गतिविधिमा सहभागी नेता तथा जनप्रतिनिधिमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले बुधवार गगन थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गर्ने निर्णय गरेपछि देउवा पक्ष थप रुष्ट बनेको छ । आयोगले थापा नेतृत्वको कार्यसमिति र संशोधित विधानलाई दल दर्ता किताबमा औपचारिक रूपमा अभिलेख गरेको छ । तर, देउवा पक्षले उक्त निर्णयलाई अन्तिम कानुनी निर्णयका रूपमा स्वीकार गरेको छैन ।

देउवा पक्षका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्दै समानान्तर महाधिवेशनको तयारी अघि बढाएको बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकाले पुरानो नेतृत्वको वैधानिकता पुन: परीक्षण हुनुपर्ने उनीहरूको तर्क छ । देउवा पक्षले आफूहरू नै कांग्रेसको मूलधार भएको दाबी गर्दै आएको छ ।

गगन पक्षको चेतावनी : सहभागी भए राजीनामा दिनू
देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएपछि गगन थापा नेतृत्वको कांग्रेसले पनि आफ्नो रणनीति स्पष्ट पारेको छ । मंगलवारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले एउटै पार्टीमा दुईवटा महाधिवेशन हुन नसक्ने बताउनुभएको छ ।

उहाँले देउवा पक्षको महाधिवेशनलाई अर्को पार्टीको अधिवेशनको संज्ञा दिँदै त्यसमा सहभागी हुने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टी सदस्यता कायम राख्ने वा अर्को समूहमा जाने निर्णय गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीको गतिविधिमा सहभागी हुने भए पदबाट राजीनामा दिनुपर्ने उहाँको चेतावनी छ । राजीनामा नदिए पार्टी विधानअनुसार कारबाही गरिने थापाको भनाइ छ । यद्यपि, पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तासँग संवादको ढोका खुला रहेको उहाँले बताउनुभएको छ । पार्टी एकताका लागि छलफल गर्न तयार रहे पनि विधानविपरीतका गतिविधि स्वीकार्य नहुने उहाँको स्पष्टोक्ति छ ।

गगन पक्षको कारबाही चेतावनीप्रति कोशी प्रदेशका सांसद केदार कार्कीले आपत्ति जनाउनुभएको छ । उहाँले आफूहरू धम्कीबाट नडराउने बताउँदै पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा कारबाहीको आधारमाथि प्रश्न उठाउनुभएको छ । निर्वाचन आयोगको अभिलेखमा गगन नेतृत्वको कार्यसमिति अद्यावधिक भइसके पनि देउवा पक्षले अदालतको पुनरवलोकन प्रक्रियालाई आफ्नो आधार बनाइरहेको छ । एकातिर देउवा पक्ष खुलामञ्चबाट शक्ति प्रदर्शन गर्दै समानान्तर महाधिवेशनमार्फत संगठनात्मक दाबी स्थापित गर्न खोजिरहेको छ भने अर्कोतिर गगन पक्षले त्यस्ता गतिविधिलाई अनुशासनको विषय बनाउने तयारी गरेको छ ।

मंसिर २१ गतेदेखि हुने देउवा पक्षको महाधिवेशन, त्यसमा सहभागी हुने प्रतिनिधिको संख्या, अदालतको निर्णय र सम्भावित कारबाहीले कांग्रेसको आन्तरिक विवादको आगामी दिशा निर्धारण गर्ने देखिएको छ ।

खुलामञ्चमा उद्घाटन, आठ हजार प्रतिनिधि उतार्ने तयारी

देउवा पक्षले वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनको तयारी अघि बढाएको छ । समूहले ६ सय १८ पालिकासहित २६ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

मंसिर २१ देखि २४ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि काठमाडौँ महानगरपालिकासँग खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप प्रयोग गर्ने अनुमति लिइएको समूहका नेताहरूले बताएका छन् । उद्घाटन कार्यक्रम खुलामञ्चमा, बन्दसत्र भृकुटीमण्डपमा र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रियसभा गृहमा गर्ने तयारी छ । महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने देउवा पक्षको अनुमान छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।