कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै



काठमाडौं । संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो ।

पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ सभापति शेरबहादुर देउवाले चासो देखाउनुभएको छैन भने महामन्त्री थापा सभापतिको विरुद्धमा भाषण गर्दै हिड्नुभएको छ । त्यस्तै, केही केन्द्रीय सदस्यसहित पार्टीको जिम्मेवारीमा नरहेका अधिकांश युवा नेताहरू देशव्यापी अभियानमा छन् ।

नेतृत्वलाई पार्टी रूपान्तरणको खाकाका सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सभापति देउवाले एकातिर सुनेर अर्कोतिरबाट उडाउने काम गरेको कांग्रेस रूपान्तरण अभियानका नेता गुरुराज घिमिरेले आरोप लगाउनुभयो । सभापतिको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेपाली कांग्रेसको रूपान्तरण सभापति देउवाबाट सम्भव छैन । हामीले पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा उहाँले सुन्नै चाहनुभएन । त्यसैले हामी अभियानबाटै उहाँलाई सच्याउन सकिन्छ भनेर लागेका हौं । उहाँ सच्चिनुभएन भने सक्किन तयार हुनुपर्छ ।’

मंगलबार महामन्त्री गगन थापाले कांग्रेसको समर्थक, शुभेच्छुकको चाहना र देशको आवश्यकता बुझेर सभापतिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुराका लागि मार्ग प्रशस्त गरिदिए, त्यो पार्टीको हितमा र सभापतिको पनि हितमा हुने टिप्पणी गर्नुभयो ।

विश्लेषक एवं पत्रकार चिरञ्जीवी अर्याल सुदृढ लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसमा रूपान्तरण आवश्यक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘नेताहरूको आपसी आरोप प्रत्यारोपको शैलीले हुँदैन । जिम्मेवार नेताहरूले पदभन्दा विचार र व्यवस्थालाई प्रथमिकतामा राख्न सक्नुपर्छ । जनताको मनस्थितिअनुसार पार्टीले परिस्थिति बनाउँदै लौजानुपर्नेमा जिम्मेवार नेताहरूले त्यस्तो छाँटकाँट देखाएका छैनन् ।’

पछिल्लो समयमा सभापति देउवाले संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेताको रूपमा स्वीकार्दै नजिक्याएपछि सशंकित बनेका महामन्त्री थापाको अभिव्यक्तिले पार्टीलाई थप क्षति पुग्ने कांग्रेस संस्थापन पक्षको बुझाइ छ । यद्यपि, सभापति देउवा र नेता कोइराला नजिकिनु समयको आवश्यकता भएको कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको दाबी छ ।

संविधान, व्यवस्था र कांग्रेस पार्टीप्रति प्रहार हुनथालेपछि नेता कोइरालाले पार्टी र देशप्रति परिपक्कता देखाउनुभएको जिकिर गर्दै विश्वकर्माले नेपाल सभमाचारपत्रसँग भन्नुभयो– ‘अहिले पार्टी, यो व्यवस्था र संविधानमाथि समेत प्रहार भइरहेको अवस्थामा कांग्रेसभित्र उत्ताउलो अभिव्यक्ति दिएर हिँड्नु पार्टीलाई थप कमजोर बनाउन लाग्नु हो । महामन्त्रीजीको अभिव्यक्तिले पार्टीलाई बलियो बनाउँदैन । पार्टी कमजोर भएपछि लोकतन्त्र पनि कमजोर हुन्छ ।’ पार्टीभित्र सहमति खोज्दै गरेको अवस्थामा जिम्मेवार नेताहरूले कसैप्रति आरोप प्रत्यारोप गर्दा असहमति थपिने र यसले पार्टीलाई थप कमजोर बनाउँदै लैजाने उहाँको दाबी छ ।

महामन्त्री थापाले नेता शेखर कोइरालासँग आफ्नो सम्बन्ध प्रगाढ रहेको जिकिर भन्नुभयो– ‘शेखर कोइरालासँग १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीको उम्मेदवार बन्दा जस्तो सम्बन्ध थियो, त्योभन्दा प्रगाढ होला तर कम भएको छैन । १५औं महाधिवेशनसम्म थप साथीहरू जोडिन्छौं, भएका साथीहरू छुट्टिन्नौं ।’

सभापति र शेखर कोइरालाको सम्बन्धको कुरा भने व्यक्तिगत रहेको भन्दै थापाले त्यसबारे टिप्पणी नगर्ने बताउनुभयो । यद्यपि, सरकारमा मन्त्री पठाउने शेखर समूहको निर्णययता महामन्त्री थापा र नेता कोइरालाबीच असन्तुष्टिहरू देखिन थालेका छन् । आफ्ना पक्षका २ नेतालाई मन्त्री बनाएका शेखर कोइराला महामन्त्री थापाको पछिल्लो असन्तुष्टिका सन्दर्भमा मौन रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्