पशुपति क्षेत्र विकास कोषले थप चार विद्युतीय शवदाह गृह निर्माण गर्ने


काठमाडौं । पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो ।

विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो । निर्माण भएपछि सबै विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने निर्णय भएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा अहिले दुई वटा विद्युतीय शवदाहगृह रहेकामा एउटाको यन्त्र बिग्रिएर थन्किएको र हाल एउटा मात्र सञ्चालनमा छ । कोष सञ्चालक परिषद्ले त्यसै स्थानमा थप चारवटा विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको हो । थप चारवटा विद्युतीय शवदाह गृह निर्माण सकिएसँगै कोषले शव निःशुल्क दाहसंस्कार गर्ने तयारी गरेको हो ।

अहिले पशुपति आर्यघाटमा शवदाह संस्कार गरेबापत दाउराबाट जलाउने घाटमा रु १५ हजार र विद्युतीय शव दाहगृहमा रु चार हजार शुल्क लिने गरिएको छ । -रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।