साना व्यवसायीको आवाजलाई सम्मान गर्न मेरो उम्मेदवारी



दिनेशलाल श्रेष्ठ
उपाध्यक्षका उम्मेदवार
नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको यही बुधबार हुने ५७औं साधारण सभा तथा निर्वाचनमा मैले जिल्ला नगर उद्योगको उपाध्यक्षमा उम्मेदवारी दिएको छु । हाम्रो समूहमा साना लगानीकर्तादेखि ठूला लगानीकर्ता रहनुभएको छ । यो समूहको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहमा रहेर उम्मेदवारी दिएको छु ।

म लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएर काम गर्दै आएको छु । महासंघका विभिन्न समितिमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको छु । २०३६ सालदेखि व्यापार व्यवसाय सञ्चालन गरेको भए पनि २०४५ सालदेखि महासंघको विभिन्न क्षेत्रमा संलग्न रहँदै आएको हुँ । उद्योगी व्यवसायी साथीहरूको सल्लाहअनुसार नै मैले पुनः उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

हाम्रो समूह गरिखाने समूहको उत्थान र प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको छ । जिल्ला नगर उद्योग वाणिज्य संघले देशभरको प्रतिनिधित्व गर्ने भएको र यो समूहमा बस्दा देशभरका समस्या आउने भएकाले यो सबैभन्दा बढी सक्रिय हुने ठाउँ हो । विगतमा पनि मैले व्यवसायीको हितका लागि जति काम गरेँ त्यसलाई साथीहरूले मनन गर्नु भएकाले उहाँहरूले महासंघ छोड्न नहुने र नेतृत्वसम्म पुग्नु पर्नेभन्दा सल्लाह दिएपछि मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । मजस्तो सानो व्यवसायी पनि महासंघको नेतृत्वमा पुग्नुपर्ने आवाजलाई सम्मान गर्दै यो उम्मेदवारी दिएको हुँ ।

मलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन साथीहरूले सुझाव दिनुभएको थियो तर मैले सकेसम्म मिलेर जानु पर्दछ भन्ने उद्देश्य राखेर जिल्ला नगरको नेतृत्व गर्ने गरी उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । मैले जुन क्षेत्रको उपाध्यक्षमा उम्मेदवारी दिएको छु यो समग्रमा निजी क्षेत्रको नेतृत्व गरे बराबरको हो । यसमा ठूला साना सबै व्यवसायी हुनुहुन्छ । मैले सानो पुँजी लिएर व्यवसाय गरेँ भनेर भने पनि मैले निरन्तर रूपमा ४२ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छु ।

मेरो व्यवसाय धेरै ठूलो पनि होइन सानो पनि होइन । मैले व्यवसाय सञ्चालन गरेदेखि सबै प्रकारको आयात निर्यात, उद्योग र सेवा क्षेत्रमा समेत काम गर्दै आएको छु । ती क्षेत्रमा अहिले देखिएका विद्यमान समस्या मैले राम्रोसँग बुझेको छु । त्यो बुझेको कारणले पनि व्यवसायीले मेरो उपस्थिति हुनु पर्दछ भनेर बढवा दिनुभएको छ त्यसले मलाई ऊर्जा प्रदान गरेको छ ।

निजी क्षेत्र र गरी खाने वर्गका लागि मैले काम गरिरहेको छु । मैले महासंघको ११ जना अध्यक्षसँग बसेर काम गरिसकेको छु । उहाँहरूले मलाई विभिन्न समितिमा बसेर काम गर्ने अवसरसमेत प्रदान गर्नुभएको थियो । मैले विभिन्न समितिमा बस्दा उद्योगी व्यवसायीको हकहितको संरक्षणका लागि काम गरेको छु ।

प्रतिक्रिया दिनुहोस्