फरक किसिमको देवी मन्दिर लिङ्ग भैरवी



काठमाडौं ।  गत फागुन २५ गते काठमाडौंको बसुन्धरामा स्थापना गरिएको लिङ्ग भैरवी देवीको मन्दिर सर्वसाधारणको लागि खुला भएको छ ।

इशा फाउन्डेसनका संस्थापक जग्गु बासुदेब अर्थात सद्गुरुले प्राण प्रतिष्ठा स्थापित गरेको उक्त मन्दिरमा दैनिक बिहानदेखि बेलुकासम्म लगभग हजार जनाले दर्शन गर्न आउने त्यहाँ स्वयंसेवीका रुपमा देवीको सेवा गरेर बसेकी सृजना महर्जनले बताउनुभयो ।

उहाँले मन्दिरभित्र पस्दा फरक उर्जा अनुभव हुने दावी गर्नुभयो । उहाँले मन्दिर बिहान साढे ६ बजेदेखि दिउँसो १ः२० बजेसम्म खुल्ने त्यसपछि सरसफाईका लागि दिउँसो ४:२० बन्द हुने जानकारी दिंदै उहाँले भन्नुभयो–‘दिउँसो ४ः२० बजेपछि फेरि मन्दिर खुल्छ र राती ८ः२० बजेसम्मै भक्तजन तथा दर्शनार्थीहरू मन्दिरभित्र प्रवेश गरी आरतीमा सहभागी हुनुका साथै ध्यानमा लिन हुन सक्नुहुनेछ ।’

भारतका सद्गुरुले स्थापना गर्नुभएको लिङ्ग  भैरवी मन्दिर भारतपछि पहिलो पटक नेपालमा स्थापना भएको हो । बसुन्धराकी एक भक्तले प्रदान गरेको दुई रोपनी ८ आना जग्गामा उक्त मन्दिरको स्थापना गरिएको हो । हुन त काठमाडौंमा लिङ्ग भैरवी देवीको मन्दिर स्थापना भएपछि केही आलोचनाहरू पनि भएका छन् । तैपनि सद्गुरुका अनुयायीहरू भने धर्ममा कुनै देश, भुगोल र जातजातिको अधिकार नहुने भन्दै लिंङ भैरवीको मन्दिरमा आएर देवीको उर्जा अनुभव गर्न अनुरोध गर्छन् ।

सद्गुरुका अनुसार लिङ्ग भैरवी स्त्रीलिङ्गको रुपमा प्राण प्रतिष्ठित एक शक्तिशाली र उग्र देवी भैरवीको रुप हो । विश्वमै लिङ्गको रुपमा स्त्री शक्ति पुजिएको पाउनु धेरै दुर्लभ भएको जिकिर गर्दै सद्गुरुले भौतिक सृष्टिको सबैभन्दा ठूलो कृति मानव शरीर भएको र यसका लागि पुरुष गुणको देन भए पनि यो अनिवार्य रुपमा स्त्रीको गर्भमा निर्मित हुने भएकोले लिङ्ग भैरवी परम स्त्री प्रकृति हो ।

लिङ्ग भैरवी ज्यामितिको हिसावले मूलाधार, स्वाधिष्ठान र मणिपूरक गरी साढे तीन चक्र हो । यी तीन पूर्ण चक्रहरू धेरै हदसम्म कल्याण, स्वास्थ्य र समृद्धिसँग सम्बन्धित छन् ।

प्रतिक्रिया दिनुहोस्