मध्यमार्ग सहकारीले उपलब्ध गरायो कृषकलाई कृषि सामाग्री



काभ्रे। 

पनौती नगरपालिका वडा नम्बर ४ र ८ का उपभोक्ता कृषक सदस्यहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले प्रविधिमैत्री कृषि अभियानका लागि कृषि सामाग्री वितरण गरेको छ । अध्यक्ष प्रदिप केसीले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उक्त सामाग्रीहरु उपलब्ध गराइएको बताउनु भयो ।

कृषि सामाग्री हस्तान्तरण गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले थोरै लगानीमा धेरै उत्पादन गराउन नगरपालिकाले समुदाय स्तरमा कृषि प्रविधि, कृषि प्राविधिक र बजार व्यवस्थापनका बारेमा योजनाबद्ध रुपले कार्य प्रारम्भ गरेको बताउनु भयो । कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रविधिमैत्री र प्राविधिक जनशक्तिलाई प्राथमिकतामा राखिएको नगर प्रमुख भण्डारीले बताउनु भयो ।

उपप्रमुख गीता बञ्जाराले कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणका लागि शुरु गरिएका अभियानलाई सहकारी र समुदायले प्राथमिकता दिएकोमा धन्यवाद दिनु भएको थियो ।

सहकारी रजिस्ट्रार इन्द्र अधिकारीले नगरपालिका भित्र रहेका १ सय ४० वटा सहकारी फरक फरक सोच र उद्देश्यका भए पनि कृषि सहकारीहरुले कृषक पाठशाला संचालन गरी कृषि उत्पादनमा थप सहयोग र योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष वेदप्रसाद बञ्जाराले कृषकलाई उत्पादनमा सहजतासँगै बजारीकरणका लागि आवश्यक पहल गर्नु पर्ने बताउनु भयो ।

सोही अवसरमा सहकारीमा आबद्ध भएका कृषकहरुका लागि १५ थान ट्याक्टर, १ हजार थान सानो ठुलो टनेल, १ सय वटा स्प्रे र १० वटा मल्चिङ्ग वितरण गरिएको थियो ।

कुल ७० लाख बजेट रहेको उक्त कार्यक्रममा ३५ लाख कृषकहरुले संकलन गरेका छन् भने ३५ लाख कृषि ज्ञान केन्द्र मार्फत प्रदेश सरकारले उपलब्ध गराएको छ । कार्यक्रममा कृष्ण बञ्जारा लगायतले कृषि सामाग्रीको सदुपयोगका लागि सहकारी र समुदायले ध्यान दिनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्