सरकारले तोक्यो अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड



काठमाडौं । नेपाल सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड तोकी नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।

२०७९ पुष ३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको मापदण्डलाई नेपाल सरकारले यही फाल्गुन १ गते नेपाल राजपत्रमा प्रकाशन गरेको हो । यो मापदण्ड कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा र हेलेन केलर ईन्टरनेशनलको प्राविधिक सहयोगमा तयार पारिएको हो ।

नेपाल राजपत्रको भाग ५ मा अन्नमा आधारित पूरक बाल आहार शीर्षकमा प्रकाशित गुणस्तर मापदण्ड जारी भएको मितिले ६ महिनापछि लागू हुने व्यवस्था रहेको उल्लेख गरिएको छ । अन्नमा आधारित पूरक बाल आहारमा सुख्खा तौलको आधारमा अन्नको मात्रा कम्तिमा २५ प्रतिशत, शक्ति कम्तिमा ४ किलो क्यालोरी प्रतिग्राम, सोडियमको मात्रा प्रति १ सय ग्राममा ३ सय मिलीग्रामभन्दा कम हुनुपर्ने र कुनै पनि कीर्तिम रङ्ग तथा अन्य हानीकारक पदार्थ मिसिएको हुनु नहुने जस्ता मापदण्डहरु राखिएका छन् ।

अन्नमा आधारित पूरक बाल आहारको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, ह्याण्डलिङ्ग, भण्डारण तथा ढुवानीमा स्वच्छता सम्बन्धी मापदण्ड नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोके बमोजिम गर्न र प्याकेजिङ्ग र लेबलिङ्ग सम्बन्धी व्यवस्था अनुसार खाद्य ग्रेडको प्याकेजिङ्ग सामग्रीमा शिलबन्दी गरी प्याक गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।

अन्नमा आधारित पूरक बाल आहारको लेवलमा स्वच्छता र गुणस्तर सम्बन्धी भ्रामक सूचना दिने खालको कुनै प्रकारको चित्र, वाक्य वा शब्दहरु उल्लेख गर्न नपाइने र प्याकेजिङ्ग तथा लेवलिङ्गमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्याकेजिङ्ग तथा लेवलिङ्गसँग नझुक्किने गरि भिन्न किसिमको हुनुपर्ने व्यवस्था हुुनुपर्नेपनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्