प्रेम दिवसमा रानीमहलमा विशेष कार्यक्रम : २५ जोडीलाई प्रेम अभिव्यक्त गर्न विशेष व्यवस्था



पाल्पा । नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकी तटमा अवस्थित रानीमहलमा प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम हुने भएको छ ।

तानसेन नगरपालिकाको मुख्य आयोजना तथा नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहलमा प्रेम दिवसको अवसर पारेर रानीमहलको ब्रान्डिङ गर्ने गरी विशेष कार्यक्रम हुन लागेको हो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले फागुन २ गते रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरिने जानकारी दिंदै भन्नुभयो– ‘कार्यक्रममा २५ विशेष जोडीले रातो कार्पेटमा बसेर रातो गुलाबको फूल साटासाट गर्नेछन् । ती विशेष जोडीलाई बिहानको खाजा, दिउँसोको खाजा, साँझको खानासहित आवासको पनि व्यवस्था गरिनेछ ।’

अनेकन विशेषता र कलात्मक संरचनाले भरिपूर्ण प्रेमको प्रतीक रानीमहल यस क्षेत्रको ऐतिहासिक सम्पदा हो । आजभन्दा करिव १ सय २६ वर्ष पहिले वनेको यो महल हेर्नमा जति आर्कषक छ, यसको पुरातात्विक महत्व पनि त्यत्तिकै छ । यो अद्भूत महलको निर्माण काठमाडौंबाट पाल्पा निर्वासित प्रधानमन्त्रीको रोलक्रममा परेका तर हुन नपाएका श्री ३ खडग शमशेरले गर्नुभएको थियो । आफ्नी रानीको सम्झनामा निर्माण गरेको हुनाले यर्स रानीमहल भनिएको हो । प्रेमको प्रतीकको बेजोड नमुना यो महल वनाउन तत्कालीन अवस्थामा भारतको कलकत्ता र बेलायतबाट कालीगढ तथा इन्जिनियरहरु ल्याइएको इतिहासविद्हरु बताउँछन् ।

पाल्पातिरबाट बग्दै आएको बराङ्दी नदी र कालीगण्डकीको संगमस्थलमा चट्टानको ठीक माथि तह–तह पारेर महल निर्माण भएको देखिन्छ । जहाँ दुईतले भवनमा सानाठूला गरी २५ वटा कोठा छन् । कालीगण्डकी नदीको तिरमा रहेको भवनको जग नदीको धार माथि छ । १ सय १२ फुट भूभाग ओगटेको भवनको निर्माण पक्ष हेर्दां निकै आश्चर्य लाग्छ । किनकी, महल परिसरमा पानीपोखरी, मनमोहक बगैंचा, आधुनिक छन्दको पार्क, शिवालय, फलामका खम्बाहरु, झुलेका फलफूलका बगंैचा आदिले जो–कसैको मन पनि पुलकित वनाउँछ । सुविधा सम्पन्न अहिलेको अवस्थामा अनकण्टार जस्तो लाग्ने विकट स्थानमा यस्तो भव्य महलको निर्माण कसरी भयो होला भनि आश्चर्य मान्नु स्वभाविक पनि हो ।

यो महल पछिल्लो समय तानसेन नगरपालिकाको मातहतमा आएको छ । नगरपाकिाले यस महलको पुनर्निर्माणसँगै केही संरचना पनि थप गरी आर्कषक बनाएको छ । तत्कालीन बौघागुम्बा गाविस–२ हाल तानसेन नगरपालिका–१३ मा पर्ने यो महल हेर्नका लागि देश–विदेशवाट पर्यटक आउने गरेका छन् । प्रेम दिवसको दिन अवस्थित शिवको मन्दिरमा जोडिले सिक्का साटेर आफ्नो जोडी अमर बनाउने, वर माग्ने जस्ता कार्यक्रम रहेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । रानी तेजकुमारीले दैनिक पूजा गर्ने यो मन्दिरमा सिक्का साटे सम्बन्ध युगौंयुग रहने उहाँको भनाइ छ ।

रानीमहलको वारेमा अझ धेरै जानकारी दिन र यसको प्रचार–प्रसार गर्न तानसेन नगरपालिकासँग सहकार्य गरी यसलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न लागिएको नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले प्रेमको प्रतीकका रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार पर्यटन प्रवद्र्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा लैजान यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

पछिल्लो समयमा भ्यालेन्टाइन डेको अवसर पारेर यहाँ जाने जोडी बढ्न थालेका छन् । विगतका वर्षमा कोरोना माहामारीका कारण अलि सुस्ताएको पर्यटन व्यवसायलाई नगरपालिकाको प्रयासमा हुन लागेको कार्यक्रमले टेवा दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्