लागू औषधसहित ३ जना पक्राउ



काठमाडौं  ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट लागू औषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले टेकुस्थित सडक किनारमा रोकी राखेको विरगञ्जबाट काठमाडौं चल्ने ना.१ ज.५५२४ नम्बर को भाडाको टाटा सुमो गाडी खानतलासी गर्दा उक्त गाडी भित्र झोलामा लुकाई राखेको लागु औषध बुप्रेनोर्फिन (नुफिन) २२०० एम्पुल, डाईजेपाम २२०० एम्पुल, फेनारगन २२०० एम्पुल समेत गरी ६६०० एम्पुल तथा गाडी बरामद गरी उक्त गाडीका चालक सर्लाही, हरिवन नगरपालिका ८ कैलाश बिकलाई पक्राउ गरी उनीमाथि लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

त्यसै गरी अवैध लागु औषध खैरो हेरोइन ७७ ग्राम, डिजिटल तराजु थान– १ र नगद १ लाख६७, हजार ५ सय सहित ३ जनालाई पक्राउ गरेको  ब्युरोले जनाएको छ ।

ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले गौरीघाट स्थित सडक किनारबाट सिन्धुली, कमलामाई ४ का मनोज थापामगर र राम कुमार श्रेष्ठ, मनोज थापामगरको साथबाट लागू औषध खैरो हेरोइन २ ग्राम र रामकुमार श्रेष्ठको साथबाट नगद १ लाख ६७ हजार ५०० बरामद गरेकाे छ  ।

रामकुमार श्रेष्ठको,कागेश्वरी मनोहरा–८ स्थितमा रहेको कोठा खानतलासी गर्दा लागू औषध खैरो हेरोइन २५ ग्राम र डिजिटल तराजु थान– १ समेत बरामद गरी सोधपुछ अनुसन्धान गर्दा लागु औषध खैरो हेरोइन बिक्री गर्ने सिरहा,गोलबजार नगरपालिका–८का सिकेन्द्र साफीलाई समेत खोजतलास गर्दै जाँदा बुद्ध एयरको उडानद्वारा जनकपुरबाट काठमाडौं आएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल कक्ष तर्फको ट्याक्सी पार्किङबाट लागु औषध खैरो हेरोइन ५० ग्रामसहित ३ जनालाई पक्राउ गरी लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको पनि ब्युरोले जनाएको छ ।

यता ब्युरोबाट खटिएको प्रहरी टोलीले कोटेश्वरबाट सिन्धुली, कमलामाई नगरपालिका– ११ विमल चौहानलाई लागू औषध खैरो हेरोइन १० दशमलव ५ ग्राम र डिजिटल तराजु थान– १ सहित पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्